नेपालगञ्ज:= बाँकेमा जनता आवास कार्यक्रमअन्तर्गत सयौं पक्की घर निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत बाँकेमा सयौं घर निर्माण गरिएको हो । बाँकेमा विपन्न नागरिकलाई आवास सुविधा दिने गरी चार वर्षअघि सुरु भएको लक्षित विपन्न समुदायको घर निर्माणको काम सम्पन्न भएको छ ।
सहरी विकास तथा भवन कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७४ सालदेखि निर्माण सुरु भएका सम्पूर्ण घरको निर्माण पूरा भएको हो । कार्यालयका निमित्त प्रमुख रामआश्रय साहले आव २०७४ बाट २०७७/०७८ सम्म क्रमागत भई आएका बाँकेका ३३१ निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा बाँकेका ६६ घर निर्माण गर्नुपर्ने सम्झौता रहेको थियो ।
तीमध्ये अधिकांश घरको निर्माण कार्य पूरा भएको उहाँले बताउनुभयो । जनता आवास कार्यक्रम प्रदेश सरकार मातहत आएपछि संघीय सरकारबाट बाँकेमा ५३७ घर निर्माणको जिम्मा भवन कार्यालयमा हस्तान्तरण भएको थियो । ‘अब नयाँ सम्झौताअनुसार काम हुनेछ । पुराना बाँकी काम पनि चालु आवमा भइरहेका छन् । जनता आवास कार्यक्रमले विपन्न नागरिकलाई सहज भएको छ,’ उहाँले भन्नुभयो । घर निर्माणका लागि अनुदान पाउने परिवारले घर निर्माणका लागि तीन लाख ५० हजार रुपैयाँ पाउँछन् । लक्षित विपन्न समुदायको घर निर्माणका लागि सम्बद्ध प्रदेशबाट निर्वाचित प्रदेश सांसदको नेतृत्वमा रहेको समितिले लक्षित विपन्न घरपरिवारको छनोट गर्ने गरेको छ ।
यस्तै अघिल्लो आवबाट बर्दियाका क्रमागत भई आएका २६७ घरको निर्माण कार्य सम्पन्न भएको छ । संघीय सरकारबाट बर्दियामा २९२ घर निर्माणको जिम्मा भवन कार्यालयमा हस्तान्तरण भएको थियो । कार्यालयले सोहीअनुसार घर निर्माण सम्पन्न भइसकेको जनाएको छ । सरकारले जनता आवासअन्तर्गत तराईका विपन्न मुसहर, चमार र मुस्लिम समुदायलाई पक्की घर बनाइदिएको हो ।




















