बर्दिया:= पूर्व-पश्चिम राजमार्गअन्तर्गतको व्यस्त बजारमध्ये एक हो, बर्दियाको भुरिगाउँ बजार पनि । ठाकुरबाबा नगरपालिकाभित्र रहेको यो बजारमा नेपालगञ्जमा पाइने सबै सामान पाइन्छ । तर, नगरपालिकाले कमिसनको लोभमा नेपालगञ्जबाट आवश्यक सामग्री ल्याउने गरेको पाइएको छ । यो कुनै व्यापारी वा सर्वसाधारण नागरिकले नगरपालिकालाई लगाउने गरेको आरोप होइन ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णा कुश्मा थारूले नगरपालिकाले आयोजना गरेको वार्षिक कार्यक्रमको समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सो रहस्य खोल्ने प्रयास गर्नुभएको हो ।
गएको वर्ष नगरपालिकाले गरेका कार्यहरूको विषयमा पत्रकारलाई अनुगमन गराइसकेपछि आयोजना गरिएको कार्यक्रममा थारूले नगरपालिकाभित्र संस्थागत भ्रष्टाचार भइरहेको भए पनि आफूले केही गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो साथै उहाँले कमिसनको कारण भुरिगाउँ बजारमा पाइने सामानलाई बढी मूल्यमा नेपालगञ्जबाट खरिद गरी ल्याइने गरेको समेत बताउनुभयो । भुरिगाउँ बजारमा एक सय रुपैयाँमा पाइने सामानलाई दुई सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्मको बिल बनाएर भुक्तानी दिइएको पाइएको बताउनुभयो । नगरपालिका स्रोतका अनुसार घननारायण श्रेष्ठ नगर प्रमुख, लेखा अधिकृत युवराज अधिकारीसहित केही कर्मचारी सहमतिमै आगामी निर्वाचनका लागि फन्ट संकलन गर्ने उद्देश्यले नगर प्रमुखकै प्रस्तावमा भुरीगाउँ बजारमा पाइने सामान नेपालगञ्जबाट ल्याइने गरिएको हो ।
ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द आचार्यले नगरपालिकाले स्थानीय व्यापारीहरूलाई प्राथमिकता नदिएको बताउनुभयो । साथै उहाँले नेपालगञ्ज पाइने सामाना भुरिगाउँमा पनि पाइने भए तापनि नगरपालिकाले एक रुपैयाँ महँगो भो भन्दै भुरिगाउँ बजारमा पाइने मूल्यभन्दा अझ बढी मूल्य तिरेर खरिद गरेको पाइएको हुँदा यस विषयमा आफूहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताउनुभयो ।
ठाकुरबाबा नगरापालिकामा करारमा कर्मचारी नियुक्ति गर्दा आफ्नै मान्छे वा कार्यकर्तालाई पहिलो प्राथमिकता दिइने भएको अवस्थामा घुस लिएर राख्ने तथा कार्यकर्ता भर्तीकेन्द्र बनाइएको बताइएको छ । नगरपालिकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, झुटा विवरण पेस गर्ने, गलत लिखित वा प्रतिवेदन दिने, कागजात सच्याउने वा नोक्सान गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्ने जस्ता भ्रष्टाचार प्रबृत्ति अधिक रहेको स्थानीयहरूले दाबी गरेका छन् । साथै योजना निर्माणदेखि कार्यान्वयनको तहसम्म पुग्दा कर्मचारी तथा पदाधिकारीको मिलेमतोमा यस्ता खालका गतिविधि भइरहेको वार्षिक समीक्षा कार्यक्रममा उपप्रमुखले कुरा उठाएपछि अहिले बर्दिया तरंगित भएको छ ।
इता, ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल भने कुनै पनि सामान खरिद गर्दा दरभाउअनुसार नै खरिद गर्ने गरिएको बताउनुहुन्छ । साथै उहाँले प्रकाशित गरिएको सूचनाको बोधार्थ उद्योग वाणिज्य संघलाई पठाइने गरिएको बताउनुभयो । भुरिगाउँ बजारका व्यापारीले बढी मूल्य र नेपालगञ्जका व्यापारीले कम मूल्य राखेपछि बाध्य भएर नेपालगञ्जबाट सामान ल्याउनुपरेको उहाँको भनाइ छ ।




















