भुजीखोला बाढीको एक वर्ष : पीडितको पीडा उस्तै, १५ जना अझै बेपत्ता।

बागलुङ:= गत वर्ष भदौं १७ गते राति बागलुङको ढोरपाटनमा भुजीखोला थुनिएर आएको बाढीले त्यहाँका दजनौं बस्ती बगायो । बाढीले बस्तीमात्रै बगाएन, तीन दर्जन बढीको ज्यानसमेत लियो । सयौंलाई घरबासविहीन बनायो । ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का भुजीखोलातटीय क्षेत्रका बस्तीहरू बगरमा परिणत भए ।

बाढीमा परी बेपत्ता भएका ३७ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन् । उनीहरूका परिवार अझै पनि आफ्ना सदस्य फर्किएर आउने आशमा छन् । बाढीले सिंगो भुजीखोलालाई तहसनहस बनाए पनि राज्य पक्षले लामो समय बित्दा पनि उनीहरूको पुनस्र्थापन गर्न सकेको थिएन । तर, केही महिनाअगाडि मात्रै विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट संकलित रकम र ढोरपाटन नगरपालिकाले बाढीपीडितका लागि आवास निर्माण गरिदिएको छ । तर पनि उनीहरूको जीविका चल्ने अवस्था छैन । उनीहरूको अवस्था निकै नाजुक रहेको पाइन्छ ।

पीडितलाई दुई लाख प्रदान

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका अनुसार ९७ परिवारलाई घर बनाउन दुई लाखका दरले नगद र जस्तापाता प्रदान गरिएको छ । यसका साथै परिवारका सदस्य गुमाएका चार परिवारलाई ५० हजारका दरले राहत रकमसमेत हस्तान्तरण भइसकेको छ ।

‘पीडितका नाममा देशविदेशबाट आएको राहत रकम र ढोरपाटन नगरपालिकाको ४५ लाख गरी दुई करोड ४६ लाख रकम हामीले पीडितका नाममा भुक्तानी गरिसक्यौं,’ नगरप्रमुख नेपालीले भन्नुभयो ‘अहिले उहाँहरूको व्यवस्थापन भइसकेको छ, कतिपयले आफैं रकम थपेर पक्की घर बनाउनुभएको छ, कसैले पैसा बचाएर छाप्रो बनाउनुभएको छ त कसैले ठिक्कको घर बनाउनुभएको छ, संघीय सरकारले दिने भनेको रकम आउँदा उनीहरूले राम्रो घर बनाउन सक्थे, एकैपटक उक्त रकम दिँदा राम्रो घर बन्थ्यो, माथिबाट रकम आउन ढिला गरेपछि हामीले दियौं, अहिले तत्कालीन समस्या टरेको छ ।’

घुम्ती बसाइँ गर्ने चलन रहेका ढोरपाटनवासी अधिकांशको दुई स्थानमा समेत घर हुने भएकाले अहिले पीडितलाई बासको समस्या नभएको कतिपयको बुझाइ छ । संघीय र प्रदेश सरकारबाट आउने अनुदानका लागि कागजी प्रक्रिया तयार गरी जिल्ला प्रशासनमा पठाउन थालिएको नगर उपप्रमुख करमती पुनले बताउनुभयो ।

दीर्घकालीन व्यवस्थापनको खाँचो 

भुजीखोलाछेउमा पुराना घर खासै थिएनन्, उनीहरू ढोरपाटन-सालझण्डी सडक विस्तारपछि व्यापारका लागि त्यहाँ झरेका हुन् भने कतिपयको पहिला नै घर थियो । त्यो स्थान सुरक्षित नभएकाले एकीकृत बस्ती बसाल्न सरकारले पहल गर्नुपर्दथ्यो ।

तर, अहिले त्यही बाढी गएको स्थानमा नै कतिपयले घर बनाउने, मर्मत गर्ने जस्ता कार्य गर्दा भविष्यमा समेत खतरा कायमै छ । सरकारले आश्वासन दिएको रकम पाएर गतिलो घर सुरक्षित जग्गा खोजेर बनाउने योजनामा रहेको बाढीपीडित खिमकुमारी पुनले बताउनुभयो ।

संघ र प्रदेशको तीन करोड बजेट प्रशासनमा

ढोरपाटनका बाढीपीडितहरूको घर बनाउनका लागि संघ, प्रदेशमार्फत् पहिलो चरणमा घर बनाउन जिल्ला प्रशासन कार्यालयमा तीन करोड २० लाख रकम प्राप्त भइसकेको प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरीय विपद् व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले जानकारी दिनुभयो । ‘गृह मन्त्रालयले विपद्ग्रस्त जिल्लामा सूचीकृत गरेपछि घरहरू पुनर्निर्माण गर्न बजेटसमेत पठाइसकेको छ, स्थानीय पालिकाले लाभग्राहीसँग सम्झौता गरी प्रत्येक घरको छुट्टाछुट्टै फाइल जिल्ला प्रशासनमा नआएकाले ढिला भएको हो, पालिकाले पठाउनासाथ हामीले घर बनाउन पहिलो किस्ता निकासा गर्नेछौं, त्योसँगै प्राविधिकहरूसमेत गृह मन्त्रालयको समन्वयमा पठाइनेछ,’ कार्कीले भन्नुभयो ‘हामी अब तयारी अवस्थामै छौं, ढोरपाटनमा बढी घर क्षति भए पनि सोही वर्ष निसीखोला, तमानखोलालगायतका पालिकामा समेत घर भत्किएका कारण उनीहरूको घरसमेत पुनर्निर्माण गरिनेछ, हामीले जिल्लाका ५९० घर पुनर्निर्माण गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थियौं ।’

प्रजिअ कार्कीका अनुसार संघीय सरकारबाट दुई करोड ८६ लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ६० लाख रकम जिल्ला प्रशासन कार्यालयमा आइसकेको छ । कार्कीका अनुसार लाभग्राहीले चार लाख पाउन सुरक्षित घर निर्माण गर्नुपर्नेछ भने गण्डकी प्रदेशले ३० प्रतिशत र स्थानीय पालिकाले १५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ ।

क्षतिग्रस्त संरचना के बने ? के बनेनन् ?

बागलुङको ढोरपाटनमा बाढीले मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो । बाढीले क्षति पु¥याएका भौतिक संरचनामध्ये केही निर्माण भइसकेका छन् भने केही अझै निर्माण हुन सकेका छैनन् ।

गत वर्ष भदौ १७ गते राति आएको बाढीले ३७ जनाको ज्यान लिएको थियो भने दर्जनौं घर, विद्युत् गृह, सडक र पुलहरू बगाएको थियो । बाढीले १२७ घरमा पूर्ण क्षति पु¥याएको थियो । जसमध्ये ९७ घर निर्माण भइसकेको ढोरपाटन नगरपालिकाले जनाएको छ । यस्तै, ११ वटा लघु जलविद्युत् आयोजना, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगेपुल, १० वटा काठेपुल, पाँचवटा ढलानपुल, दुईवटा विद्यालय र २० किलोमिटर सडक बगाएको नगरपालिकाको तथ्यांक छ ।

बाढीले क्षति पु¥याएका ११ वटा लघुजलविद्युत् आयोजना सबै सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका सूचना अधिकारी हरिस भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले बगाएका १० वटा काठेपुल मर्मत भएका छन् भने दुईवटा विद्यालयसमेत निर्माण भइसकेका छन् ।

बाढीले ढोरपाटन नगरपालिका-९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो । यसैगरी, सालझण्डी–ढोरपाटन सडकखण्डको २० किलोमिटर सडक बगाएको थियो । उक्त सडक पनि मर्मतपछि संञलनमा आइसकेको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । बाढीले क्षतिग्रत बनेको स्वास्थ्य इकाईसमेत निर्माण भई सञ्चालनमा छ ।

उहाँका अनुसार ११ वटा झोलुंगेपुल, १० वटा ढलानपुल भने निर्माण भएका छैनन् । पुल नबन्दा बर्खायाममा आवतजावतमा निकै समस्या भएको स्थानीय लिलमाया विकले गुनासो गर्नुभयो । हिउँदको समयमा जसोतसो खोला पार गरे पनि वर्षात्को समयमा खोलामा पानीको बहाव बढेपछि आवतजावत गर्न समस्या भएको उहाँले बताउनुभयो । ‘पोहोर साल बाढीले पुल बगाइदियो, अहिले त वारिपारि गर्न पनि ठप्पै भएको छ, खोला बढेर यति ठूलो भएको छ, हिउँदमा त बरु वारपार गर्न सकिन्थ्यो, अहिले त वारिको मान्छे वारि, पारिको मान्छे पारि भइएको छ,’ विकले भन्नुभयो, ‘एक वर्ष भयो, अहिलेसम्म पुल बनेन, अब कहिले बन्ने हो ?’

उहाँले खोलापारि आफ्नो जग्गा भएको र काम गर्न दैनिकजसो जानुपर्ने भन्दै पुल नहुँदा कामकाज पनि गर्न नसकिएको गुनासो पोख्नुभयो । विक घरपारिको बारीमा जान निकै समस्या भएको बताउनुहुन्छ । अर्का स्थानीय गोविन्द पुन मगर बाढीले बगाएको पुल समयमा नबन्दा सयौं स्थानीयले सास्ती खेप्नुपरेको बताउनुहुन्छ । सरकारले आफूहरूलाई उपेक्षामा पारेको भन्दै वर्ष दिन बितिसक्दा पनि पुल नबन्नु दुखद भएको उहाँले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार पीडितको घर बनाइसकेको र अन्य क्षतिग्रस्त भौतिक संरचना पनि निर्माण गरेको बताउनुहुन्छ । मेयर नेपालीले ९७ परिवारको घर निर्माण गरिसकिएको र सडक, काठेपुल, विद्युत्, विद्यालय र स्वास्थ्य इकाई पनि निर्माणपश्चात् सञ्चालनमा आएको बताउनुभयो । ‘बाढीपीडितका घरहरू निर्माण गर्नुका साथै विद्युत्गृह, स्वास्थ्य इकाई र विद्यालय बनिसकेका छन्, पीडितको घाउमा मलम लगाउने कोसिस हामी गरिरहेका छौ,’ मेयर नेपालीले भन्नुभयो, ‘अब विस्तारै उनीहरूलाई थप व्यवस्थापन गर्ने प्रक्रिया पनि अगाडि बढाउने योजनामा हामी छौं ।’

उहाँले बाढीले पूर्णरूपमा क्षति भएका पुलहरू निर्माणका लागि केन्द्र सरकारसँग समन्वय गरिरहेको भन्दै विस्तारै पुलहरू पनि बन्ने बताउनुभयो । अहिले स्थानीयलाई वारपारमा समस्या रहेको भन्दै अब तत्कालै पुल निर्माण प्रक्रिया पनि थाल्ने मेयर नेपालीको भनाइ छ ।