पर्वत:= पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३ र ११ मा पहिरोले चार घर पुरिँदा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका-३ को दुर्लुङमा स्थानीय कौशिल्या पौडेलको घर पुरिँदा ७५ वर्षीया पौडेलसहित ३५ वर्षीया भगवती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र नौ वर्षीय विनोद पौडेलको मृत्यु भएको डिएसपी बुढाथोकीले जानकारी दिनुभयो । मृतक पाँचै जना एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ । उक्त घरमा अब कौशिल्याका छोरा रामप्रसाद मात्र जीवित हुनुहुन्छ ।
रामप्रसाद वैदेशिक रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । ‘रामप्रसाद विदेश गएको पनि एक वर्ष पुगेको छैन, यता घरमा ठूलै बज्रपात आइलागेको छ,’ वडा नम्बर ३ का वडा सचिव यम शर्मा पौडेलले भन्नुभयो, ‘गाउँमा निकै सहयोगी मान्छे थिए उनैमाथि यस्तो बज्रपात आइलाग्यो ।’
घटनाले सिंगो गाउँ नै शोकमा डुबेको उहाँले बताउनुभयो । शर्माका अनुसार गाउँकै माधव पौडेल सोही घरमा बस्दै आउनुभएको थियो । पहिरोले उहाँ बसेको कोठा मात्रै बचेको छ । उहाँले होहल्ला गरेपछि गाउँलेले थाहा पाएको शर्माले बताउनुभयो ।
त्यस्तै, कुश्मा नगरपालिकाकै वडा नम्बर ११ सिल्मीमा एक घर भत्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेश पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
वडा नम्बर ११ कै पकुवामा एक घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिराले स्थानीय डल्ली पौडेलको घर भत्किँदा ७० वर्षीया पौडेलसहित, ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुश पौडेलको मृत्यु भएको डिएसपी बुढाथोकीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
त्यस्तै, पर्वतकै मोदी गाउँपालिका–५ आमबोटमा एक घर भत्किँदा एकजनाको मृत्यु भएको छ । पहिराले घर भत्किँदा स्थानीय ५० वर्षीया फूलमाया थापाको मृत्यु भएको उहाँको भनाइ छ । डिएसपी बुढाथोकीले मृतक सबैको उद्धार गरी पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।
बुढाथोकीले बिहीबार रातिदेखि इन्टरनेट, विद्युत् र फोन अवरुद्ध हुँदा जिल्लाको समग्र जानकारी लिन नसकेको बताउनुभयो । पहिरोले फाइबर पुरिँदा धौलागिरिका चार जिल्ला, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ इन्टरनेट, फोन र विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
डिएसपी पौडेलले राति सुतेको अवस्थामा पहिरोले घर पुरिँदा उनीहरूले ज्यान बचाउन नसकेको बताउनुभयो । केही दिनदेखि निरन्तर परेको वर्षाले जिल्लाको अन्य ठाउँमा पनि पहिरो गएको र घरहरू जोखिममा परेको उहाँ बताउनुहुन्छ ।
‘पर्वतमा केही दिनदेखि निकै ठूलो भारी वर्षा भइरहेको थियो, बिहीबार राति पहिरोका कारण जिल्लाको विभिन्न ठाउँमा धनजनको ठूलो क्षति भएको छ, उहाँहरू सुतेको अवस्थामा पहिरो आउँदा ज्यान जोगाउन नसकेको भन्ने छ,’ डिएसपी पौडेलले भन्नुभयो ‘अरू ठाउँमा पनि गोठहरू पुरिए भन्ने खबर आएको छ, टेलिफोन अवरुद्ध हुँदा सम्पूर्ण जानकारी लिन सकिराखेका छैनौँ ।’
उहाँले घर गोठ भत्किँदा दर्जनौँ पशुचौपाया पुरिएर लाखौँको क्षति भएको भन्दै पहिरोका कारण जिल्लाका विभिन्न सडकहरूसँगै राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिनुभयो । पहिरोले उक्त सडकखण्डको पर्वतको चुवादेखि पातिचौरसम्म ११ स्थानमा पहिरो गएको उहाँले बताउनुभयो ।
सडकको केही दूरीमा ठूलो–ठूलो पहिरो जाँदा बागलुङ, म्याग्दी र बागलुङलगायत जिल्लाबाट काठमाडौं पोखरा हिँडेका यात्रुहरू सडकमै अलपत्र परेको बताउनुभयो । सडक खण्डको विभिन्न स्थानमा ठूलो पहिरो जाँदा सडक खुलाउन केही दिन लाग्ने उहाँ बताउनुहुन्छ ।
‘पहिरो बागलुङ–पोखरा सडक खण्डसँगै जिल्लाको ग्रामीण सडकहरू पनि पूर्णरूपमा अवरुद्ध भएका छन्, मध्यपहाडी लोकमार्गकै पर्वत खण्डको चुवादेखि पातीचौरसम्मको सडक क्षेत्रमा ११ ठाउँ पहिरो गएको छ,’ उहाँले भन्नुभयो ‘त्यसलाई खुलाउन केही दिन लाग्ने देखिन्छ, टाढाबाट आउनुभएका यात्रुहरू पनि सडकमै अलपत्र परेको अवस्था छ ।’
बाढीपहिरो र डुबानमा परी देशभर ११६ जनाको मृत्यु
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ११६ जनाको मृत्यु भएको छ । यो संख्या गत जेठ ३० गतेदेखि शुक्रबारसम्मको हो । यो अवधिमा मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, पाँच जना बालक र एक जना बालिका रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
बाढीको कारण तीन हजार १८२ वटा घर डुबानमा परेका छन् । यस्तै ९७८ वटा घर, १६४ वटा गोठ, ६६ वटा पुल, आठ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने एक हजार ३०३ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा एक हजार ३४५ वटा विपद्का घटनाबाट एक हजार २६९ वटा घर परिवारका ६ हजार १११ जना मानिस विस्थापित भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रुपमा संलग्न रहेको बताइएको छ । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।



















