काठमाडौं:= लामो समयको अन्योल र पटक–पटक कार्यतालिका हेरफेर गर्दै आएको नेपाली कांग्रेस अन्ततः १४औं महाधिवेशनमा प्रवेश गरेको छ । शुक्रबारदेखि सुरु भएको वडा अधिवेशनसँगै कांग्रेस १४औं महाधिवेशनमा प्रवेश गरेको होे ।
निर्वाचन समितिका अनुसार क्रियाशील सदस्यता सूची सार्वजनिक भइसकेका ५६ जिल्लामध्ये अधिकांशमा शुक्रबार वडा अधिवेशन भएको हो । समिति सदस्य सीताराम केसीले पहिलो दिन ४१ जिल्लामा वडा अधिवेशन भएको जानकारी दिनुभयो । ‘आज ४१ जिल्लामा अधिवेशन प्रारम्भ भएको छ । केहीमा सकियो, केहीमा आज(शनिबार) नतिजा आउँछ । विभिन्न कारणवश १५ वटा जिल्लामा अधिवेशन शुक्रबारबाट सुरु हुन सकेन । ती जिल्लामध्ये कतिपय जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भइसकेकाले यही २३ गतेभित्र अधिवेशन सक्नेछन् ।’ कति वडामा सर्वसम्मत भयो र कति वडामा चुनावी प्रक्रियाबाट प्रतिनिधि चुनिए भन्ने विवरण भने आइनसकेको उहाँले बताउनुभयो । यससम्बन्धी विवरण शनिबार (आज)मात्र आउने उहाँको भनाइ छ ।
क्रियाशील सदस्यता विवरण सार्वजनिक भएका ५६ जिल्लामा भदौ २३ भित्रै वडा अधिवेशन सक्ने तयारी छ । तर, २१ जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यता प्रकाशित नहुँदा ती जिल्लामा अधिवेशनको टुंगो छैन । २१ जिल्लाको के हुन्छ भन्ने विषयमा भने निर्वाचन समिति नै अन्योलमा छ । निर्वाचन समिति सदस्य केसीले ती जिल्लाको क्रियाशील सदस्यको विवरण नै प्राप्त नभएकाले त्यसबारे केही भन्न नसकिने बताउनुभयो । ‘बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता विवरण नै प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसबारे अहिले केही भन्न सकिँदैन ।’
पार्टीको आन्तरिक लोकतन्त्रमा कांग्रेस सधैँ अगाडि छ : सभापति देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सक्रियरूपमा सहभागी हुन सबै कार्यकर्तामा आग्रह गर्नुभएको छ । वडा अधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान भिडियो सन्देशमार्फत उहाँले स्वदेश र विदेशमा रहेका पार्टीका सदस्य, शुभेच्छुक र शुभचिन्तक सबैलाई महाधिवेशनलाई पर्वका रूपमा लिई सहभागी हुन आग्रह गर्नुभयो । संवैधानिक बाध्यताअनुसार कोभिड महामारीकै बीच सुरु भएको महाधिवेशनमा उहाँले स्वास्थ्य मापदण्ड पालना गरेर सहभागी हुन अनुरोध गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको उहाँको भनाइ छ । ‘नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ,’ उहाँले भन्नुभएको छ, ‘त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु । लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेस हरेक आन्दोलनको नेतृत्व गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमा पनि सधैँ अगाडि छ । स्वस्थ आन्तरिक प्रतिस्पर्धाले जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्दछ । देशभरिका साथीहरूलाई सर्वसम्वत् वा स्वास्थ प्रतिस्पर्धामार्फत सहभागी हुन अनुरोध गर्दछु ।’
शुक्रबार उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिका-५ र मध्यपुरथिमि नगरपालिका–४ मा पुगेर वडा अधिवेशनको अवलोकनसमेत गर्नुभयो । वडा अधिवेशन अवलोकनमा पुग्नुभएको देउवाले एमाले नेता महेश बस्नेतलाई भक्तपुरमा पुनः चुनाव जितेर देखाउन चुनौती दिनुभएको छ । देउवाले बस्नेतलाई भक्तपुरका कांग्रेस नेता दुर्लभ थापालाई हराउन चुनौती दिनुभयो । ‘महेश बस्नेतले मलाई चुनौती दिए भन्छन्,’ उहाँले भन्नुभयो, ‘पहिले दुर्लभ थापालाई हराएर देखाउनुस् ।
गुट र गिरोह समाप्त पारौँ : डा. कोइराला
कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कम्युनिष्टभन्दा कमजोर हुनुको कारण गुट र गिरोह भएको भन्दै त्यसलाई समाप्त पार्न अपिल गर्नुभएको छ । वडा अधिवेशन सुरु हुनुअघि शुक्रबार बिहानै विज्ञप्ति जारी गर्दै उहाँले कांग्रेसको इतिहास गौरवशाली भए पनि वर्तमान इतिहास सुहाउँदो नभएको टिप्पणी गर्नुभएको छ । ‘कांग्रेसको १४औँ महाधिवेशन उत्सवको रूपमा मात्र हाम्रोसामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरूलाई जिम्मेवार र विवेकपूर्ण रूपमा अन्तरआत्माको आवाज सुन्न पनि घचघच्याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन, यसैले पार्टी पुनः गौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सबै महाधिवेशनमा सरिक हुनुपर्नेछ । स्वास्थ्य र शालीन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत उचाइमा पुग्नेछ । हामीले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कारलाई हटाउन सकेनौँ । १४औं महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलीभूत हुनुपर्नेछ ।’
चाँडै मैदानमा हुनेछु : शर्मा
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छिट्टै आफ्नो उम्मेदवारी घोषणा हुने बताउनुभएको छ । वडा अधिवेशन सुरु भएकै दिन चाँडै मैदानमा आउने घोषणा गर्नुभएको हो । आफूले पहिले नै प्रवक्ताबाट ‘रिटायर्ड’ हुन आएको होइन भन्ने गरेको स्मरण गर्दै उहाँले शुभचिन्तक, पार्टी पंक्ति र प्रेसलाई शुभेच्छा र साथ चाहेको बताउनुभएको छ । ‘उम्मेदवारी घोषणा कहिले ? शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु,’ उहाँले भन्नुभएको छ, ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ । वडा अधिवेशन सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना । चाँडै नै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु ।’
वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ । केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म हुनेछ । क्रियाशील सदस्य विवादकै कारण कांग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ को अधिवेशन उद्घाटन गर्दै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रासस



















