काठमाडौं:= मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय फुटबल टोलीसँग १–१ को बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको एकमात्रै गोल गर्नुभयो भने भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काउनुभएको थियो ।
३५औं मिनेटमा अञ्जन विष्टले नेपाललाई अग्रता दिलाउनुभएको थियो । भारतीय गोलरक्षक अघि बढेको अवस्थामा आयुष घलानको पासमा बल अघि बढाउँदै अञ्जनले वान भर्सेस वानको स्थितिमा गोल गर्नुभएको हो ।
त्यसअघि खेलको तेस्रो मिनेटमा अञ्जन विष्टले डी बक्सको बायाँ क्षेत्रबाट गरेको प्रहार भारतीय गोलरक्षक गुरप्रित सिंह सिन्धुले जोगाउनुभयो । यस्तै २५औं मिनेटमा आयुष घलानले डी बक्सबाहिरबाट दिएको पासलाई अन्य नेपाली खेलाडीले नियन्त्रणमा लिन नसक्दा नेपालले पोस्टमा प्रहार गर्न सकेन ।
पहिलो हाफको इन्ज्युरी समयमा तेज तामाङको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो । दोस्रो हाफमा भारतले आक्रामक खेल प्रस्तुत गर्यो । ६१औं मिनेटमा डी बक्सभित्रबाट नेपाली मूलका भारतीय कप्तान सुनिल क्षेत्रीले पोस्टमा प्रहार गर्नुभयो । उक्त प्रहारलाई नेपाली गोलरक्षक किरण चेन्जोङले पन्च गर्नुभएको थियो । पन्च गरेको बल पोस्ट नजिकै खस्दा अर्का भारतीय खेलाडी अनिरुद्र थापाले बललाई पोस्टको दिशा दिँदै खेल बराबरीमा ल्याउनुभयो ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । पाँच वर्षपछि भारतीय टोलीले नेपाल आएर खेल्न लागेको हो । नेपालले अन्तिमपटक घरेलु मैदानमा भारतसँग सन् २०१५ मार्च १७ मा खेलेको थियो । फिफा विश्वकप छनोटका लागि भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
हालसम्म नेपाल र भारतबीच २० पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्रै जितेको छ । पाँच खेलमा बराबरी भएको छ । भारतले ३४ गोल गर्दा नेपालले १० गोलमात्रै गरेको छ ।
दुवै टोलीले आगामी साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ गते, दोस्रो खेल श्रीलंकासँग असोज १८ गते, तेस्रो खेल भारतसँग असोज २४ गते तथा लिग चरणको अन्तिम खेल बंगलादेशसँग असोज २७ गते खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।
नेपाल, भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सम्मिलित उक्त प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज ३० गते भिड्नेछन् । भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ ।




















