काठमाडौं := आगामी एभरेस्ट प्रिमियर (ईपीएल) का लागि चितवन टाइगर्सले पाँच विदेशी खेलाडीसहित टोली घोषणा गरेको छ । बुधबार चितवनले पत्रकार सम्मेलन गर्दै पाँच विदेशी खेलाडीसहित २० सदस्यीय टोली घोषणा गरेको हो ।
ईपीएल ९ देखि २३ असोजसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । फाइनल विजेताले ५० लाख पाउने जनाइएको छ । सोमपाल कामीको कप्तानीमा घोषित २० सदस्यीय टोलीमा श्रीलंकाका शेकुगे प्रसन्न, अफगानी मोहम्मद सहजाद र करिम जनात, पाकिस्तानी ड्यानिस अजिज र मलेसियन विरनदीप सिंह समावेश हुनुहुन्छ ।
यस्तै नेपाली खेलाडीमा कमलसिंह ऐरी, साहब आलम, इशान पाण्डे, ललितसिंह भण्डारी, दिलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडकबहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी हुनुहुन्छ ।
चितवनले मुख्य प्रशिक्षकमा सामसनजंग थापालाई घोषणा गरेको छ । चितवनलाई आसन्न ईपीएलको चौथो संस्करणका लागि प्रभु पेले मुख्य प्रायोजन गर्ने भएको छ । चौथो संस्करणको ईपीएलमा चितवनसँगै भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, काठमाडौं किंस–११, विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।




















