काठमाडौं:= नेपाली कांग्रेसमा १४औं महाधिवेशनको सरगर्मी बढ्दै गएको छ । वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी हुँदा महाधिवेशनमा विभिन्न पदमा आकांक्षी नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरेको पाँच दिनपछि नेता कल्याण गुरुङले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उहाँले उम्मेदवारी घोषणा गर्नुभयो । गुरुङले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको भन्दै आफूले उम्मेदवारी दिएको र जित्ने दाबी गर्नुभयो । ‘शासन व्यवस्थामा परिवर्तन आयो । तर, नेतृत्वको सोंचमा परिवर्तन आएन,’ उहाँले भन्नुभयो, ‘६० वर्षमाथिका २० जना पार्टी नेतृत्वका आकांक्षी छन् । कम्तीमा पनि १० जना युवा आकांक्षी हुनुपर्छ । बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरेको कांग्रेसमा अहिले पनि पुरानै पुस्ता नेतृत्व गरिरहेको छ । नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ । त्यसैले मेरो उम्मेदवारी हो । अब नयाँ पुस्ता सक्षम भइसकेको छ ।
गुरुङले सभापतिमा निर्वाचित भएपछि किसान, दलित जनजाति, आदिवासी, मुस्लिम संघ, थारू संघ सबै समुदायलाई समेटेर नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउने बताउनुभयो। उहाँले नेपाली कांग्रेसभित्र सबैले न्यायको अनुभूति, न्याय, राजनीतिक सुरक्षा प्राप्त गर्ने पार्टीको रूपमा वातावरण सिर्जना गर्ने बताउनुभयो । पार्टीको सभापति बनेमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद एकपटकको लागि मात्र हुने वैधानिक व्यवस्था गर्ने र देशको संंविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने पहल गर्ने पनि उहाँले बताउनुभयो ।
‘पार्टीमा आउने सबै समुदायलाई समेटेर नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउँछु । म कांग्रेसको सभापति भएँ भने सबैले न्याय प्राप्त गर्ने, सबैले राजनीतिक सुरक्षा प्राप्त गर्ने वातावरण बनाउँछु । नेपाली कांग्रेसबाट समानुपातिक सांसद एकपटकको लागि मात्रै हुने वैधानिक व्यवस्था गर्छु । कांग्रेसको विधानमा मात्रै होइन, देशको संविधानमा नै समानुपातिकबाट सांसद हुने व्यक्ति एकपटक मात्रै हुन पाउनुपर्छ । त्यो किसिमको संवैधानिक व्यवस्था गर्न म नेपाली कांग्रेसको सभापति भइसकेपछि म पहल गर्छु, दुईपटक मात्रै मन्त्री र दुईपटक मात्रै प्रधानमन्त्री हुने संविधानमा व्यवस्था गर्दछु ।’ उहाँले चाँडै आफ्नो टिम सार्वजनिक गर्ने पनि बताउनुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुनुहुन्छ । ०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुनुभएका गुरुङ १२औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत हुनुभएको थियो ।
यसअघि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएका निधिले सम्पर्क कार्यालयसमेत खोलिसक्नु भएको छ भने मंगलबार मात्रै महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गर्नुभएको थियो । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसअघि नै आफूनिकट हरूसँगको छलफलमा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा पनि आकांक्षी धेरै भएपछि टिमबाट एकजना मात्रै उम्मेदवार बनाउने कसरत चलिरहेको छ ।
आसन्न महाधिवेशनमा वडा अधिवेशनअघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरू निरन्तर छलफलमा जुटे पनि कुनै सहमति हुन सकेको छैन । पौडेल पक्षीय नेताहरूले १४औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । बुधबार राजधानीमा भएको समूहको भेलामा १४औं महाधिवेशन नेपाली कांग्रेसको एकताको महाधिवेशन हुनुपर्ने विषयमा छलफल भएको कांग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिनुभयो । उहाँले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने बताउँदै पार्टीभित्रका हरेक नकारात्मक प्रवृत्तिलाई हटाउँदै संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । पौडेल समूहमा सभापतिका चार आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व-महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी हुनुहुन्छ ।
विवाद बाहेकका जिल्लामा भदौ १८ देखि कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु हुन्छ : प्रवक्ता शर्मा
नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएकै समयमा सुरु हुने भएको छ । क्रियाशील सदस्यता सूची प्रकाशित भइसकेका जिल्लामा भदौ १८ (शुक्रबार)बाटै वडा अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । पछिल्लो समयसम्म ५६ वटा जिल्लाका क्रियाशील सदस्यहरूको सूची सार्वजनिक भएको छ । सूची सार्वजनिक भएका जिल्लाहरूमा १८ गतेबाटै अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको प्रक्रिया भदौ १८ बाटै सुरु हुने बताउनुभयो । ‘नेपाली कांग्रेस भदौ १८ गतेबाट १४औं महाधिवेशनमा प्रवेश गर्दैछ,’ उहाँले भन्नुभयो, ‘कारणवश ढिलाइ हुने स्थितिभन्दा बाहेक १८ गतेबाट नै महाधिवेशनको प्रक्रिया सुरु गर्नेछौँ, त्यसकारण सबैको जोड १८ गते छ ।’
क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी जिल्लामा भने निर्वाचन समितिसँग समन्वय गरेर अनुकूलताबमोजिम सार्न भदौ २२ भित्रै सुरु हुने गरी गर्ने तयारी छ । क्रियाशील सदस्यताको विवरण नटुंगिएका र अन्य व्यवस्थापनका कारण कुनै जिल्लामा केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकूलताबमोजिम सार्न सक्ने उहाँले बताउनुभयो । ‘कुनै भूगोलमा कारणवश १८ गते सुरु हुन जटिलता भए जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर १८ बाट १९, २०, २१ आफ्नो अनुकूलताअनुसार गर्न सक्नुहुनेछ,’ उहाँले भन्नुभयो ।
महाधिवेशनमा कोभिड महामारी मुख्य चुनौती भएकाले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो । भेटघाटमा जाँदा वा कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन प्रवक्ता शर्माले अपिल गर्नुभयो । कोभिड महामारीमा पनि महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको भन्दै यसबाट आफू जोगिन र समाजलाई पनि जोगाउनुपर्ने कर्तव्य नेपाली कांग्रेसको भएकाले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उहाँले अनुरोध गर्नुभयो । ‘संकटको बेला देशभरका नेता कार्यकर्तालाई हामी अपिल गर्दछौँ कि, मास्क लगाउनलाई,’ उहाँले भन्नुभयो, ‘एकातर्फ महाधिवेशन गर्नुपर्ने जिम्मेवारी अर्कोतर्फ कोरोनाबाट आफू र परिवारलाई जोगाउनुपर्ने छ । त्यसैले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन अनुरोध गर्दछु।’ मंसिर ९-१३ का लागि तय भएको कांग्रेसको १४औं महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।




















