काठमाडौं:= कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिनुभएको छ । निर्वाचन निर्देशिकाले दलित समुदायको प्रतिनिधित्व हुने बाटो बन्द गरेको भन्दै निर्देशिकामा असहमति जनाउँदै विश्वकर्माले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
‘वर्तमान विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यकालगायत मुलुकभरका दलित समुदायलाई पार्र्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको छ,’ उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘तर, पार्टीमा सधैँ वर्चस्व रहेको जाति, वर्ग र समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ ।
११औं महाधिवेशनमा सम्माननीय सभापतिज्यू आफैँले प्रारम्भ गर्नुभएको कदमको खिल्ली उडाएको छ । यसरी षड्यन्त्रमूलक ढंगलबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन ।’ यो निर्देशिका मान्य नभएको भन्दै उहाँले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनःस्थापन गर्नका लागि बुधबार कांग्रेस मुख्यालयमा धर्ना दिएका छन् । पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौती भएका दलितका अधिकार पुनःस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो । धर्नामा सहभागीहरूले आफूहरूको मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् । माग पूरा नभए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ ।




















