स्थानीय तहले डिसिएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र मनोरञ्जन स्थल पनि खुल्ने
काठमाडौं:= काठमाडौं उपत्यकामा वैशाख १६ देखि अर्थात् चार महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोनाको अवस्थालाई हेरेर निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् । पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेको बैठकपछि जारी आदेशमा उल्लेख छ ।
जारी आदेशमा शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर, विद्यालय सञ्चालन गर्नुपर्ने स्थिति आए स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)सँग समन्वय गर्नुपर्ने भनिएको छ । साथै, बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
अब पसल, रेष्टुरेन्ट, होटललगायत व्यवसायहरू पनि सञ्चालन गर्न पाइने भएको छ । ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान ९ बजेदखि ११ बजेसम्म र अपराहृन ४ बजेदेखि ७ बजेसम्म गर्न पाइने जनाइएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने व्यवस्था मिलाइएको छ ।
बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भदौ मसान्तसम्म जारी रहने बताउनुभयो । उहाँले बुधबार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको हकमा १८ वर्षभन्दा मुनिका बालबालिकाहरूले भ्याक्सिन नलगाएकाले अझै केही समय रोक्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएकाले कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताउनुभयो । उहाँले चाडपर्वहरू भौतिक उपस्थितिमा नमनाउन आग्रह गरिएको भन्दै मनाउने भए सांकेतिक रूपमा मात्र मनाउन पनि आदेश जारी गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले व्यापार व्यवसाय गर्न पाउने भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु नहुने बताउनुभयो । उहाँले उपत्यकामा स्वास्थ्य मापदण्डको पालना भए÷नभएको बारे प्रशासनले नियमित र आकस्मिक अनुगमन गरिरहने पनि बताउनुभयो । अनावश्यक रूपमा मानिसहरू जम्मा भएर भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव र भोज आदि कार्य गर्न नपाउने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
प्रजिअ पराजुलीका अनुसार सेवा तथा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए÷नभएको बारेमा नियमित अनुगमन हुने बताउनुभयो । ‘सेवा तथा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए÷नभएको विषयमा अनुगमन हुन्छ,’ प्रजिअ पराजुलीले भन्नुभयो, ‘मापदण्ड पालना नभएको पाइएमा तत्काल कारबाही हुन्छ ।’
दुई हजार बढी कोरोना संक्रमित थपिँदा २० जनाको मृत्यु
बुधबार थप दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १४ हजार ९३५ जनामा गरिएको परीक्षणमा १३ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो । प्रवक्ता डा. पौडेलले संक्रमण पुष्टि हुने दर केही दिनयता कम भएको जस्तो देखिए तापनि प्रदेशअनुसार संक्रमण पुष्टि हुने दर फरक रहेको बताउनुभयो ।
देशभर पछिल्लो समय ३४ हजार १८९ जना सक्रिय संक्रमित छन् । तीमध्ये देशका विभिन्न अस्पतालमा ५६३ जना आइसियु र १७० जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो समय थप तीन हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख १९ हजार ३३६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ । पछिल्लो समय २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै, बुधबार काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।




















