दाङ:= राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विनोद सिंहमाथि भएको दुव्र्यवहारको घटनालाई लिएर आन्दोलित भएका दाङका स्वास्थ्यकर्मीहरूले आन्दोलन फिर्ता लिएका छन् । भदौ ११ गतेदेखि आन्दोलनमा रहेका जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बुधबारबाट नियमित रूपमा काममा फर्किने निर्णय गर्दै आन्दोलन फिर्ता लिएका हुन् ।
मुख्य योजनाकार मानिएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया थालेको आधिकारिक जानकारी आन्दोलनरत स्वास्थ्यकर्मीलाई प्रहरीले पठाएपछि बुधबारदेखि आन्दोलन रोकेर काममा फर्कन लागेको राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गरी बुधबारदेखि नियमित रूपमा सबै स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा फर्किने र सेवा सुरु गर्ने जनाएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर ओलीले आन्दोलन रोकेर काममा फर्किने निर्णय भएको बताउनुभयो । ‘अब आन्दोलनका कार्यक्रम रोकेर काममा फर्किने निर्णय गरेका छौं’ ओलीले भन्नुभयो, मेसु सिंहलाई कार्यकक्षमै मोसो दलिएपछि जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू काम रोकेर आन्दोलनमा उत्रिएका थियौँ।
उनीहरूले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति गराउन माग गर्दै शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका थिए । आइतबार तुलसीपुरमा र सोमबार घोराहीमा हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित नाराबाजी गर्दैै उनीहरू सडक आन्दोलन र प्रदर्शनमा उत्रिएका थिए । उनीहरूको बुधबार लमहीमा प्रदर्शन गर्ने योजना थियो । तर, माग पूरा भएपछि लमहीको आन्दोलन स्थगन गर्दै स्वास्थ्यकर्मी काममा फर्किएको ओलीले बताउनुभयो ।




















