काठमाडौं:= नेकपा एमाले ०७५ जेठ २ सम्मका कमिटी यथावत राख्दै २०७५ जेठ ३ बाट अघि बढ्ने भएको छ । पार्टी विभाजनको क्रममा माधव नेपालको साथ छाडेर आएका नेताहरूसँग ०७५ जेठ २ बाट नै फर्किने सहमति भएको भनिए पनि एमाले तत्कालीन समयमा माओवादी केन्द्रसँग एकता घोषणा हुनुअघि र माओवादीबाट आएका नेताहरूको समेत व्यवस्थापन गरी अगाडि बढ्ने भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी) मा २०७५ जेठ २ गतेसम्मका, एकीकरणका क्रममा आबद्ध भएका र ०७५ जेठ ३ गतेपछिका पार्टीका सदस्यहरूको सदस्यतालाई आधारमा मान्ने उल्लेख गरिएको छ । सोहीअनुसार जिल्ला कमिटीहरूलाई सदस्यता नवीकरण गर्न पनि निर्देश गरिएको छ । २०७७ चैतबाट २०७८ चैतसम्म गरी १३ महिनाको सदस्यता शुल्क लिएर सदस्यता नवीकरण गर्न निर्देशन दिँदै एमालेले अगामी असोजसम्म नवीकरणको काम सम्पन्न गर्न भनेको छ ।
महाधिवेशनमा चुन्न र चुनिने अधिकार भने २०७७ चैत मसान्तसम्म सदस्यता प्राप्त गरेको सदस्यले मात्रै पाउने भएका छन् । यसअघि एमालेले जेठ २ को अवस्थाबाट फर्किने कार्यदलमा सहमति भएको थियो । तत्कालिन समयमा कार्यदलले एकताका क्रममा एमालेमै रहेको माओवादी केन्द्रका नेताहरूको पनि उचित व्यवस्थापन गर्ने भनेको थियो । सोहीअनुसार सहमति भएको र अन्तरपार्टी निर्देशनमा पनि सहमतिअनुसारको विषय नै उल्लेख गरिएको नेताहरूले बताएका छन् ।
१० बुँदे कार्यान्वयन गर्न जिम्मेवारी
नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीबाट भएका निर्णयहरू कार्यान्वयनका लागि नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ । प्रदेशदेखि स्थानीय तहसम्मका मातहतका कमिटीमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नका लागि पार्टीका नेतालाई जिम्मेवारी प्रदान गरेको हो । अध्यक्ष अोलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशनमा प्रदेश, जिल्ला र सो मातहतका कमिटीमा १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न सातवटै प्रदेशमा पार्टीका नेतालाई जिम्मेवारी दिइएको जनाएको छ ।
प्रदेश नं. १ मा भीम आचार्य, सुवासचन्द्र नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङ्वोहाङ, प्रदेश नं. २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वालाकुमारी साह, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल रहनुभएको छ ।
यस्तै, गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापा, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मी तथा सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई सहजीकरणको जिम्मेवारी दिइएको छ ।
जनवर्गीय संगठनमा १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई सहजीकरण गर्न जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष ओलीले जारी गर्नुभएको निर्देशनमा पार्टीलाई एकताबद्ध बनाउँदै र जीवन्ततालाई दिँदै विसं २०७५ जेठ २ गते फर्काइएको अवस्थामा फर्किएको यथार्थलाई ध्यान दिई कार्य गर्न निर्देशन दिइएको छ ।
निर्देशनमा विसं २०७७ चैतदेखि २०७८ चैतसम्म १३ महिनाको सदस्यता शुल्क लिन भनिएको छ । पार्टी महाधिवेशन आगामी मंसिर १० देखि मंसिर १२ गतेसम्म गर्ने निर्णय गरिएको छ । यस्तै, विधान अधिवेशन असोज ४ देखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ ।
विभाजनकारी गतिविधिमा संलग्न नहुन निर्देशन
नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताहरूलाई विभाजनकारी गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ । अध्यक्ष ओलीको हस्ताक्षर रहेको अपानीमा पार्टी एकताको पक्षमा दृढतापूर्व उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न पार्टीका नेता र कार्यकर्ताहरूलाई आहृवान गरिएको हो । कुनै हिसाबले विगतमा यस्तो गतिविधिमा संलग्न भएको भए पनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिन तयार हुनेहरूलाई बिनाभेदभाव पार्टीमा स्वागत गर्ने निर्णय गरेको अपानीमा उल्लेख गरिएको छ । एमाले पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन उल्लेख गर्दैै भनिएको छ, ‘पार्टी विभाजनको दूराशयबाट हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ ।
अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’ पार्टी विभाजनका लागि संवैधानिक निकायबाट भएका कानुनविपरीतका कार्यहरूको कानुनी प्रतिवाद गर्न कार्यकर्तालाई एमालेले आहृवान गरेको छ । यसैगरी, निर्वाचन आयोगबाट भदौ २२ गतेसम्म दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट पनि प्रभावित नहुन जनप्रतिनिधिहरूलाई निर्देशन दिइएको छ ।
अपानीमा भनिएको छ, ‘यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ।’
यसैगरी, पार्टी तथा दलको निर्णय, निर्देशन र ह्वीप उल्लंघन गरबापत दलका सदस्यहरूलाई गरिएका कारबाहीको आफ्नो पार्टीको सूचनालाई बेवास्ता गर्दै विभाजनका लागि सहयोग पु¥याउने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि गरिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता जोगाउन नसकेको आरोप लगाइएको छ ।
एमाले अध्यक्षका लागि म ‘डिजर्भ’ गर्छु : पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १०औं महाधिवेशनमा अध्यक्षको दाबी गर्ने संकेत गर्नुभएको छ । सोमबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले पार्टीको आगामी महाधिवेशनमा आफू अध्यक्षका लागि दाबेदार रहेको संकेत गर्नुभएको हो ।
देशभरिका नेता कार्यकर्ताको चाहना भएमा आफू अध्यक्षका लागि अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसाबले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताउनुभयो । तर, त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढ्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मैले चाँहि के बुझ्छु भने त्यो संवेदनशील घडीमा आवश्यकता के पर्छ ? कस्तो हुन्छ ? देशभरका कार्यकर्ताको चाहना के हुन्छ ? डिमाण्ड के हुन्छ ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । म मनोगत ढंगले भन्न त भनौँला, तर त्यसबेलाको परिस्थिति, कार्यकर्ताको चाहना, आवश्यकता छ कि छैन ? त्यो कुरालाई हेक्का राख्नुपर्छ ।’
उहाँले व्यक्तिगत हिसाबले आफू अध्यक्षका लागि परिपक्व र क्षमतावान् रहेको बताउनुभयो । इतिहास, निष्ठा, निरन्तरता र क्षमताले अध्यक्षमा आफ्नो दाबी स्वाभाविक हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तिमी त्यो (अध्यक्ष बन्ने) क्षमता राख्छौ कि राख्दैनौ भनेर मलाई सोध्ने हो भने मैले फेरि दोेहो¥याउँछु– म इतिहासले, निष्ठाले, निरन्तरताले, क्षमताले कुनै पनि जिम्मेवारीमा डिजर्भ गर्छु ।’ नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल वैशाख १० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
महासचिव पाखरेलले सत्तारूढ गठबन्धनलाई ‘टालाटुली’ को संज्ञा दिनुहुँदै धेरै दिन टिक्न नसक्ने दाबी गर्नुभएको छ । आफ्नो पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढ्ने पनि उहाँले बताउनुभो ।
उहाँले भन्नुभयो, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसाबले अगाडि जान्छौं ।’ महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराउनुभयो ।




















