काठमाडौं:= नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब कुनै कार्यकारी पदका लागि दाबी नगर्ने घोषणा गर्नुभएको छ । दिल्लीबाट उपचार गरी फर्किनुभएका खनालले आफू उमेरले पनि ७० नाघेकाले पार्टीभित्र कार्यकारी पद माग्ने नैतिक आधार पनि नहुने उहाँले बताउनुभयो । उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरूलाई पनि त्यसै गर्न आग्रहसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म ७० वर्ष पुगिसकेको हुनाले मैले अब कुनै कार्यकारी पोष्टको दाबी गर्ने विचार गरेको छैन । तर पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि चाँहि मैले ठाउँ राखेको छु । तर, म मेरो आफ्नो तर्फबाट भने मैले कार्यकारी पोष्ट माग्ने कुनै नैतिक अधिकार छैन । किनभने पार्टीको नवौँ महाधिवेशनमा ७० वर्षको मापदण्ड राख्ने मुख्य नेता म नै हुँ ।’
वरिष्ठ नेता खनालले आफू बाचुन्जेल देश, राष्ट्र, राष्ट्रियता र क्रान्तिकारी कुम्यनिष्ट पार्टीको निर्माण र विस्तारमा समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले नेकपा एमालेबाट बाध्यात्मक रूपमा आफूहरूले विद्रोह गर्नुपरेको बताउनुभयो । वरिष्ठ नेता खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरूले विद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको तर्कसमेत गर्नुभयो ।
ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टीभित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि विद्रोह गरिएको उल्लेख गर्दै त्यो विद्रोह नव–निर्माणको निम्ति भएको पनि बताउनुभयो ।
नेता खनालले पार्टीलाई एकताबद्ध बनाएर लैजान पनि सिंगो पार्टी पंक्तिलाई आहृवान गर्नुभयो । उहाँले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो विद्रोह हो । विद्रोह सिर्जनाको निम्ति हो । विद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकताबद्ध भएर अगाडि बढ्न म सबैलाई आहृवान गर्दछु । त्यो आग्रहका साथमा सबै कमरेडहरूले आफूलाई नयाँ मान्छेको रूपमा रूपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रूपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढ्ने होइन । समाजवादको भनेको सामूहिकता हो । सोही ढंगले अगाडि बढ्ने हो ।’
खनाल दिल्लीको अपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपणपछि सोमबार स्वदेश फर्किनुभएको हो । उहाँ उपचारका लागि दिल्लीमा अढाई महिना बस्नुभएको थियो । दिल्ली उपचारका लागि जाँदा नेकपा एमालेको वरिष्ठ नेताका हैसियतमा भए पनि उहाँ फर्किंदा भने एमालेबाट विभाजन भएर बनेको नयाँ पार्टी एकीकृत समाजवादी पार्टीको वरिष्ठ नेता हुनुभएको छ । उहाँले दल विभाजनका लागि आयोगले सनाखत गरेको दिन अस्पतालबाटै सनाखत गर्नुभएको थियो ।
वरिष्ठ नेता खनाललाई स्वागत गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरू मुकुन्द न्यौपाने, बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायत विमानस्थलमा पुग्नुभएको थियो ।
एमाले दक्षिणपन्थी भासमा गयो : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले ‘दक्षिणपन्थी भासमा भासिएपछि आफूहरू नयाँ यात्रामा अगाडि बढेको बताउनुभएको छ । उपचार गराएर फर्किनुभएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुग्नुभएका अध्यक्ष नेपालले ओलीका कारण एमाले दक्षिणपन्थी बाटोमा गएको उल्लेख गर्नुहुँदै आफूहरू अब नयाँ यात्रामा अगाडि बढेको बताउनुभयो । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएपछि पार्टी शिथिल बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओली अध्यक्ष भएपछि पार्टी शिथिल भयो । व्यक्तिवादी हाबी हुँदै गयो । गुटगत हाबी हुँदै गयो । अहिले पार्टी दक्षिणपन्थी भासमा भासिएपछि र सुधारको कुनै सम्भावना नदेखिएपछि नयाँ पार्टी बनाउने सोच बनायौँ । ’
उहाँले अगाडि भन्नुभयो, ‘केपी ओलीको प्रवृत्तिमा सुधार भएन, कुर्सीका लागि प्रतिनिधिसभा विघटन गरे, आफ्नो गुटलाई जोगाउन नेकपाको विभाजन गरे । उनले नेतृत्व गरेको एमाले चुर्लुम्म दक्षिणपन्थी भासमा भासियो ।’
अब आफू नेतृत्वको पार्टीले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने नेपालले दाबी पनि गर्नुभयो । ओलीले लगातार मनपरी गर्न थालेपछि आफूहरू अलग हुनुपरेको उल्लेख गर्नु हुँदै उहाँले भन्नुभयो, ‘हामीहरू नयाँ यात्रामा अगाडि बढेका छौँ । नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने नयाँ अभियानमा जुटेका छौँ । समय–समयमा यस्ता समस्या देखा पर्ने गरेका छन् ।’
कम्युनिष्ट पार्टीहरू विगतदेखि नै समय-समयमा दक्षिणपन्थी धारमा भासिने गरेको र जनविश्वास गुम्ने गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पहिलो पटक देखा परेको समस्या होइन । २०१४ मा पनि त्यस्ता समस्या देखिएका थिए । पार्टीका तत्कालीनमा महासचिवले पनि पार्टीलाई दक्षिणपन्थी भासमा पु¥याउने प्रयास गरेका थिए । त्यसपछि पार्टीले जनताको विश्वास गुमाउँदै पनि गयो ।’




















