काठमाडौं:= नवनियुक्त सचिवहरूलाई अर्थ मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयमा आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाउनुभएका सचिव सुमनराज अर्याललाई स्वागत गर्नुभएको हो । यससँगै अर्थ मन्त्रालयमा उच्चपदस्थ अधिकारीको नयाँ टिमले पूर्णता पाएको छ ।
नवनियुक्त सचिवहरूलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालयअन्तर्गतका तीनजना सचिवको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्य प्रणालीमार्फत् सम्पादन गर्न निर्देशन दिनुभयो । वित्तीय साधनको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवबाट आ–आफ्नो विशिष्टताअनुसारको परिणाममुखी भूमिका निर्वाह हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा मन्त्री शर्माले यसअघि आफूले राजस्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजना यथाशक्य चाँडो पेश गर्नसमेत निर्देशन गर्नुभयो । अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकमा सकारात्मक परिणाम दिन सकेमात्र काम गरेको ठहर्ने भएकाले सोहीअनुसार खटिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजस्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै संविधानको भावना र वर्तमान सरकारको भिजनअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताउनुभयो ।
नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताउनुभयो ।
नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महŒवपूर्ण रहेको भन्दै त्यसका लागि आफ्नातर्फबाट सक्दो योगदान हुने विश्वास दिलाउनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।




















