जसरी भए पनि काठमाडौंको फोहोर उठाउने प्रबन्ध गर्न प्रधानमन्त्री देउवाको आग्रह।

यो एउटा महानगरको मात्र चिन्ताको विषय होइन : मेयर शाक्य

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो तत्कालै मर्मत गर्न सडक विभागलाई निर्देशन दिनुभएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोली समस्या समाधानको पहल गरिदिन माग गर्दै सोमबार प्रधानमन्त्रीलाई भेट्न गएको थियो । भेटमा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि संघीय सरकारले जस्तोसुकै सहयोग गर्ने वचन दिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले आफूहरूसँगको भेटकै क्रममा कार्यालयबाटै सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी सोमबारदेखि तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभएको मेयर शाक्यले जानकारी दिनुभयो । फोहोर उठ्न नसक्नुको अर्को कारण भनेको सिसडोल जाने मोटरबाटो बन्न नसक्नु रहेको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताउनुभयो । उहाँले वर्षायाममा अझ विशेष गरेर यस वर्ष धेरै पानी परेकोले बाटो हिलाम्मे भएको र फोहोरका गाडीहरू जानै नसक्ने अवस्थाले फोहोर थुप्रिएको बताउनुभयो ।

यो समस्या सबैको भएकाले कसैलाई दोष नदिने बताउँदै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरे उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या नहुने उहाँको भनाइ छ । ‘हामीले सिसडोलमा फोहोर व्यवस्थापन गर्दै आइरहेका छौँ त्यहाँ गाडी जान नसकेको कारणले फोहोर उठाउन नसकिएको हो,’ उहाँले भन्नुभयोे, ‘अहिले पनि केही-केही गाडीहरू गइरहेका छन् । तर, जुन अनुपातमा नियमित रूपमा जानुपर्ने हो त्यो जान सकेका छैनन् । त्यसका लागि पहल गरिरहेका छौँ ।’

फोहोरको समस्या आफ्नो मात्र नभएको भन्दै यसमा संघ, प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । ‘काठमाडौं महानगरपालिका मात्रैको होइन, ललितपुरमा हेरे पनि त्यस्तै छ, ठिमीमा हेरे पनि त्यस्तै छ, अरू नगरपालिकामा हेरे पनि त्यस्तै छ, सबैतिर फोहोर थुप्रिएको छ,’ उहाँले भन्नुभयो, ‘यो एउटा महानगरको मेयरको मात्र चिन्ताको विषय होइन, समग्र उपत्यकाको हो । त्यसैले संघ र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने विषय हो ।’ यो महानगरको मेयरले मात्रै गर्छ भनेर सबै पन्छिन नहुने उहाँले बताउनुभयो । ‘यस्तो बेलामा सबै मिलेर, स्वामित्व लिएर, जिम्मेवारी बहन गरेर समाधानतिर लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको निर्देशनपछि सडक विभागले सिसडोल र बञ्चरे डाँडाको बाटो मर्मतको तयारी थालिहाल्ने जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिनुभयो । फोहोर विसर्जनस्थलमा समस्या भएपछि काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ ।

यस्तै, लामो समयदेखि काठमाडौंको फोहोर नउठाइएको भन्दै युवाहरूको समूहले काठमाडौं महानगरपालिकाको प्रवेशद्वारमा फोहोर थुपारेर विरोध गरेको छ । युथ कांग्रेस नेपालका कार्यकर्ताहरूले महानगरपालिका अगाडि फोहोर थुपारेपछि ‘मेयरलाई फोहोर उपहार’ लेखेको प्लेकार्ड छाडिदिएका थिए ।