काठमाडौं:= राजधानीमा कलकाकर्मी तथा समाजसेवीलाई सम्मान गरिएको छ । रिबन इन्टरटेनमेन्टको सातौं वार्षिकोत्सवको अवसरमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी कलाकर्मी तथा समाजसेवीलाई सम्मान गरिएको हो । उहाँहरूलाई प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान गर्नुभएको थियो ।
अभिनेता धिरेन शाक्य, चलचित्र निर्देशकहरू सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक विधान कार्की, रंग पत्रकार जीवन पराजुली, गीतकार दयाराम पाण्डे, संगीतकारहरू अर्जुन पोखरेल, दीपक शर्मा, समाजसेवी अनुप के. बराल, रंग संयोजक रेनिश फागो, व्यवसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बू, कलाकारहरू प्रेम पाण्डे, प्रदीप बास्तोला, साक्षी लम्साल, गायिका सरिता भारती लगायतलाई सम्मान प्रदान गरिएको हो ।
सम्मानित व्यक्तित्वहरूले आ-आफ्नो क्षेत्रमा राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेका कारण सम्मानित गरिएको रिबन इन्टरटेन्मेन्टका अध्यक्ष निशु झाले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि झाले कला क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तित्वलाई सम्मानित गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । झाले कला क्षेत्रमा काम गर्नेहरू राजनीति गर्नेभन्दा धेरै माथि रहेको बताउँदै कलाकर्मीहरू समाज परिवर्तनका संवाहक रहेको बताउनुभयो ।
साथै, उहाँले आगामी दिनमा नेपाली कला क्षेत्रका सम्मानित व्यक्तित्वहरूले आफ्नो क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली चलचित्रकी प्रथम नायिका भुवनचन्द थापा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थन नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको उपस्थिति थियो ।




















