काठमाडौं:= निर्वाचन आयोगले एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने र जनता समाजवादी पार्टी (जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेशसभा र पालिकाका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।
नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका हुन् । सरकारले ल्याएको अध्यादेशअनुसार संघीय संसद् वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याए दल विभाजन गर्नसक्ने व्यवस्था गरेपछि यी दुवै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।
आइतबार बसेको आयोगका पदाधिकारीको बैठकले दल परिवर्तन गर्न चाहने जनप्रतिनिधिहरूले भदौ २२ गतेसम्म निर्वाचन आयोगमा पुगेर सनाखत गर्नुपर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भदौ २ गतेको मितिलाई आधार मानेर २२ गतेसम्म दल परिवर्तनको निर्णय गर्ने समय दिइएको जनाएको छ ।
अध्यादेशमा प्रदेश र पालिकाका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया सुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुवै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, यी दुवै दलबाट नयाँ दल रोज्न चाहने प्रदेश सांसदले प्रदेश निर्वाचन कार्यालय प्रमुख र स्थानीय जनप्रतिनिधिको हकमा जिल्ला निर्वाचन कार्यालय प्रमुखको रोहबरमा सनाखत गर्नुपर्ने भएको छ । प्रदेश निर्वाचन कार्यालयले प्रदेशसभा तथा स्थानीय तहका सदस्यको सनाखत गराउँदा छुट्टाछुट्टै स्थानमा छुट्टाछुट्टै रजिष्ट्रार खडा गरी सनाखत गराउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित कार्यालयलाई निर्देशनसमेत गरेको छ ।




















