एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल, मन्त्री छान्ने जिम्मा नेपाललाई।

काठमाडौं:= नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन हुनुभएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । त्यस्तै, बैठकले राष्ट्रियसभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकले दलको विधान निर्माण गर्नका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको उहाँको भनाइ छ । यसैगरी, बैठकले पार्टीको तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको पनि नेता खतिवडाले जानकारी दिनुभयो । ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई हामीले एकलौटी निर्णय गर्न दिने अधिकार प्रत्यायोजन गरिएको छ,’ उहाँले भन्नुभयो ।

बैठकले भारतमा उपचाररत नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकारलाई बाढी–पहिरोले निम्त्याएका समस्या समाधानका निम्ति ध्यानाकर्षण पनि गराएको नेता खतिवडाले बताउनुभयो । जनताले अनुभूति हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको पनि उहाँको भनाइ छ । नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन् । बुधरबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता पाएको हो । शुक्रबार आयोगले एकीकृत समाजवादीका २३ सांसदको नाम संसद् सचिवालयमा पठाएको थियो । एकीकृत समाजवादीका राष्ट्रियसभामा सात सांसद छन् ।

तत्काल अरू पार्टीसँग एकीकरण हुँदैन : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल अरू कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापी रूपमा बलियो संगठन बनाउने बताउनुभएको छ । पार्टी संसदीय दलको पहिलो बैठकलाई बानेश्वरमा सम्बोधन गर्दै नेपालले केही व्यक्तिहरूले अरू दलमा विलीन हुन गइरहेको हल्ला चलाएको भन्दै त्यस्तो भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘अहिले नै कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । अरूको टाङमुनि छिर्न गइरहेका छन्, विलीन हुन गइरहेका छन्, भन्ने हल्ला चलाएका छन्, ती सबै वाहियात कुरा हुन् । गाउँ–गाउँसम्म हाम्रो पार्टी संरचना छ । त्यसलाई मजबुत बनाउँछौँ । कम्युनिष्ट दृष्टिकोणबाट विचलित हुने छैनौं’, अध्यक्ष नेपालले भन्नुभयो ।

कतिपयले नयाँ पार्टीको भविष्य छैन भन्ने गरेको भन्दै उहाँले त्यसको पनि प्रतिवाद गर्नुभयो । ‘नयाँ पार्टीको भविष्य छैन भन्ने गरेका छन्, म प्रश्न गर्न चाहन्छु– केशरजंग रायमाझीको पार्टीबाट पुष्पलालले विद्रोह नगरेको भए कम्युनिष्ट आन्दोलन के हुन्थ्यो ?’, उहाँले भन्नुभयोे, ‘कम्युनिष्ट आन्दोलन नै विलीन हुन्थ्यो । विद्रोह गरेका कारण कम्युनिष्ट आन्दोलन जोगियो । केशरजंगको पार्टी विलीन भयो ।’

कम्युनिष्ट आन्दोलन बचाउनकै लागि विभिन्न समयमा पार्टीभित्र विद्रोह भएको उहाँले बताउनुभयो । ‘मनमोहन अधिकारी, मोहनविक्रम, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाए । झापा विद्रोह भयो । पछि माओवादी विद्रोह भयो । त्यसले कम्युनिष्ट आन्दोलन, राष्ट्रियता बचायो’, नेपालले भन्नुभयो, ‘त्यसबेला पनि व्यवस्थाका विरुद्धमा चालिएका कदमको पक्षपोषण भएपछि पार्टीबाट विद्रोह गर्नुपरेको थियो । अहिले पनि केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको हो ।’

पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने नेपालले बताउनुभयो । ‘शरीरभित्रको फोहोर जति फाल्यो त्यति सफा हुन्छ । कोठाको भित्रको कसिंगर जति फालियो त्यति सफा हुन्छ । आकर्षणको केन्द्र हुन्छ । आन्दोलनको नेतृत्व गर्न सक्छ’, उहाँले भन्नुभयो । सांसद र जनप्रतिनिधिको हैसियत बचाउनकै लागि पार्टी दर्ता गर्न ढिला गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताउनुभयो । ‘प्रतिनिधिसभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो,’ उहाँले भन्नुभयोे, ‘राष्ट्रियसभामा माओवादीको १३, कांग्रेसको सात, हाम्रो सात जना छन् । एक स्वतन्त्र र एक मनोनीत छन् । ५९ मा अध्यक्षले हस्ताक्षर गर्न नपाउने भएकाले गठबन्धनको स्पष्ट बहुमत छ ।’

उहाँले प्रदेशहरूमा पनि पाँच दलीय गठबन्धनको बहुमत भएकाले कानुनहरू बनाउन र काम गर्न सहज हुने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरूलाई नयाँ दलमा आबद्ध गराउन पनि निर्देशन दिनुभएको छ ।