काठमाडौं:= बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट यो वर्ष ठूलो धनजनको क्षति भएको छ । पहाडी क्षेत्रमा बाढीपहिरो र तराईका क्षेत्रमा डुबानका कारण बर्सेनि ठूलो धनजनको क्षति हुनेको गरेको छ । यो वर्ष बाढी, पहिरो, डुबान, आगलागी, चट्याङलगायत विपद्का घटनाबाट १८३ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार यो वर्षको वैशाख १ गतेदेखि भदौ १३ गते दिउँसोसम्म १५ सय ९२ वटा विपद्का घटना घटेका छन् । जसमा १८३ जनाले ज्यान गुमाएका छन् । विभागका अनुसार सो अवधिमा ४१३ जना घाइते भएका छन, भने ४१ जना अझै बेपत्ता छन् । २०५७ परिवार विस्थापित भएकोमा विपद्बाट ९२ करोड, ८२ लाख ६२ हजार ३४२ रुपैयाँबराबरको आर्थिक क्षति भएको छ।
विभागको तथ्यांकले पहिरोमा परेर यो वर्ष ४८ जनाले ज्यान गुमाएका छन् । पहिरोका २२८ वटा घटनामा १० जना अझै बेपत्ता रहेका छन्, भने ६८ जना घाइते भएका छन् । पहिरोबाट २४९ परिवार प्रभावित भएका छन् । दुई करोड ४९ लाख ४५ हजारबराबरको आर्थिक क्षति भएको छ । यस्तै, बाढीका १०३ घटनामा ३२ जनाको मृत्यु भएको छ । बेपत्ता ३० जनाको अवस्था अज्ञात हुँदा ९ जना घाइते भएका छन् । १८० परिवार प्रभावित भएको विभागको तथ्यांक छ । ६ करोड ७४ लाख ७८ हजार ५०० बराबरको आर्थिक क्षति भएको छ।
यसैगरी, पछिल्लो तीन दिनमा अविरल वर्षाका २५२ घटनामा नौ जनाको मृत्यु भएको र २८ घाइते भएको विभागको तथ्यांक रहेको छ । ३११ परिवार प्रभावित हुँदा कुल सात करोड ४७ लाख ३१ हजार बराबरको क्षति भएको छ । विभागले चट्याङ्का १४१ घटनामा ४२ जनाको मृत्यु भएको जनाएको छ । १२१ घाइते हुँदा २०५ परिवार प्रभावित भएका छन् । जसमा एक करोड ५६ लाख ७४ हजार ८३० क्षति भएको छ।
१७ वटा सर्पदंशका घटना १५ जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन्, भने १८ परिवार प्रभावित भएका छन्। यो वर्ष सबैभन्दा बढी आगलागीका घटना घटेका छन् । विभागका अनुसार वैशाखदेखि भदौ १३ गतेसम्म ६३६ वटा आगलागीका घटना भएका छन् । जसमा १३ जनाको मृत्यु भएको छ, १०७ जना घाइते भएका छन् । आगलागीबाट ६८७ परिवार प्रभावित हुँदा ७३ करोड ६३ लाख ७९ हजार २१२ बराबरको क्षति भएको छ । यसैगरी, डढेलोका ६२ घटनामा परी तीन जनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन् । २८ परिवार प्रभावित हुँदा चार लाख ५० हजारबराबरको आर्थिक क्षति भएको छ।
हावाहुरीबाट एकजनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । विभागले चारजना घाइते भएको १०६ परिवार प्रभावित भएको जनाएको छ । यस्तै, ५९ लाख ४९ हजार क्षति भएको छ । जनावरको आक्रमबाट मात्रै यो वर्ष २० जनाले ज्यान गुमाएका छन् । १२० वटा जनावर आक्रमणका घटना घटेकोमा ७२ जना घाइते भएका छन् । १७५ परिवार विस्थापित भएका छन् । जसबाट २६ लाख ५४ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।
मनसुनपछि मात्रै ९४ जनाको मृत्यु
नेपालमा यो वर्षको मनसुन सुरु भएयता ९४ जनाको मृत्यु भएको विभागले जनाएको छ । विभागका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन सुरु भएदेखि आइतबार दिउँसोसम्म ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् । उहाँले झण्डै ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । यसैगरी, २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेबल र २९ वटा झोलुंगे पुलमा क्षति भएको छ । झण्डै ८०० घर पूर्ण क्षति भएको छ । नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्नेछ।
मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपालि मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि, मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण हजारौं घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्यांक छ ।
पछिल्लो तीन दिनमा नौ जनाको मृत्यु
तथ्यांकअनुसार पछिल्लो तीन दिनमा मात्रै बाढी, पहिरो र डुबानबाट नौ जनाको मृत्यु भएको छ । अन्य ६ जना बेपत्ता छन् । आइतबार मात्रै तीन जनाको मृत्यु भएको विभागको तथ्यांक रहेको छ । यस्तै, तीनजना बेपत्ता छन्, भने तीनजना घाइते भएका छन् । ३४ वटा विपदका घटनामा ३९ लाख ११ हजारबराबरको क्षति भएको छ।
यो वर्ष वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित भएका छन् । सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभावित हुनेमा पर्छ । वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा शताब्दीकै ठूलो क्षति भएको भूगर्भविद्को दाबी छ।
पछिल्लो केही दिनयता नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ । डुबेकामध्ये १० प्रतिशत पूर्ण क्षति छ । एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगव्याधि निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ।
विभिन्न सडक अवरुद्ध
आइतबार पनि देशका विभिन्न ठाउँमा निरन्तरको वर्षाले सडक अवरुद्ध गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएको छ। इन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा आइतबार उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो।
यसैगरी, सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडकखण्ड पनि अवरुद्ध भएको छ । नागढुंगा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रूपा थापाले जानकारी दिनुभयो। राजमार्ग अवरुद्ध भएका कारण सवारीसाधनको सात किलोमिटरसम्मको लाइन लागेको थियो । साँझबाट भने सडक केही खुलेको छ । तर, अझै वर्षा जारी रहेकाले पहिरो आउने खतरा भने रहेको छ।
पाल्पा जिल्लामा पनि विभिन्न सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा-बुटवल सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका-३ सिद्धबाबा, सिसुवा, तिनाउ-५ हिउँदेखोला, केराबारी, जरेपीपल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।
यस्तै, तानसेन नगरपालिका-७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, सेरा र रम्भा गाउँपालिका-३ सीतापहाडमा पहिरो खसेको छ । त्यस्तै, तानसेन–रिडी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोले सडक अवरुद्ध भएको छ।
यस्तै, झापामा पनि वर्षाले अधिकांश नदी तथा खोलाहरूको बहाब बढेको छ । जसकारण डुबान र कटानको जोखिम उच्च भएको छ । पानीको निकास नहुँदा सहरी क्षेत्रका पालिकाहरू पनि जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाले झापा गाउँपालिका-५ स्थित पन्थपाडाका १२ घर डुबानमा परेको छ । घर-आँगनमा वर्षाको पानी दुई फिटसम्म जमेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । त्यस्तै, माई खोलामा आएको बाढीले गौरीगञ्ज गाउँपालिका-१ स्थित रंगेथानमा तटीय क्षेत्र तीव्र रूपमा कटान भइरहेको छ।
‘खोलाले तटीय क्षेत्रको ३५/४० मिटर बाँध कटान गर्दै खेतबारीसम्म पानी आइपुग्न लागेको छ,’ डिएसपी थापाले भन्नुभयो, ‘निरन्तर पानी परेमा नदीमा आएको बाढीले धान खेती डुबान गर्दै माहाभारा तथा कुन्जीवारि क्षेत्रका ८० देखि ९० घर डुबानमा पर्ने सम्भावना देखिएको छ।’
खोलामा आएको बाढीले अर्जुनधारा-५ मा तटीय क्षेत्र कटान गरिरहेको रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले जानकारी दिनुभयो । त्यसैगरी, कचनकवल-५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको पानी बस्ती नजिकै पुगेको छ । मेची नदीले केही दिन अघि ११२ नम्बर सीमा पिलर बगाएर लगेपछि त्यसका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पाठामारीले जनाएको छ।
११२ नम्बर पिलर नजिकै नेपाली र भारतीय दुवै बस्ती रहेको छ । सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई रुद्र श्रेष्ठले जानकारी दिनुभयो । नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र पनि कटान गर्दै बस्ती बगाउने खतरा छ, उहाँले भन्नुभयो । कचनकवल-४ स्थित ११९/२८ नम्बर सानो पिलर बगाउने अवस्थामा पुगेको छ।
जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कचनकवलका प्रहरी निरीक्षक भक्त थापाले जानकारी दिनुभयो । साथै ११९÷२३ नम्बर पिलर पानीमा डुबेको उहाँको भनाइ छ। साथै कचनकवलका अधिकांश स्थान जलमग्न भएको स्थानीयबासीहरू बताउँछन्।
मलामी गएका युवक बेपत्ता
बैतडीमा आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका-२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आइतबार बिहान १०ः०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ । यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरूको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन्।
सोमबार पनि वर्षा जारी रहने
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि वर्षा जारी रहने जनाएको छ । मंगलबारबाट भने मौसममा विस्तारै सुधार आउने महाशाखाले जनाएको छ ।मौसमविद् समीर श्रेष्ठका अनुसार आइतबार २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ । चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ।
अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने अवस्था रहेको महाशाखाले जनाएको छ । जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विश्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । मौसमविद् राजु प्रधानांगले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिनुभयो । मंगलबार भने पूर्वतर्फ प्रभाव पार्ने उहाँले बताउनुभयो।




















