काठमाडौं:= डेनिस बियर ब्रान्ड टुबोर्गले मानिसहरूलाई एकताबद्घ गर्ने संगीतको शक्ति मनाउने अभियान टुबोर्ग ओपनको नयाँ प्रस्तुतिका लागि युवापुस्ताका लोकप्रिय गायक सुशान्त केसीले विश्वव्यापी प्रचलित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने घोषणा गरेको छ ।
उक्त अभियानअन्तर्गत केसीले डेभिड गुएटाको नयाँ ट्र्याक ‘गेट टुगेदर’ को अफिसियल रिमिक्स रिलिज गर्नुहुनेछ, जुन ट्र्याक गुएटाले विश्वका विभिन्न क्षेत्रका कलाकारलाई एकसाथ ल्याउन सिर्जना गर्नुभएको थियो।
नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा उत्सुक हुँदै गुएटा भन्नुहुन्छ, ‘विश्वभरका विभिन्न कलाकारसँग काम गर्ने सोच मलाई मनपर्छ । त्यसैले मलाई लाग्छ कि टुबोर्ग ओपन प्रोजेक्ट निकै राम्रो छ । मेरो सम्पूर्ण जीवन मैले कलाकार, डिजे, निर्माता र पपस्टारसँग सहकार्य गरिरहेको छु र म यो काम गर्न एकदम मन पराउँछु किनभने मलाई विश्वास छ कि संसारमा यति धेरै प्रकारका मानिसहरू छन्, जसबाट हामी सबैले सिक्न सक्छौं ।’
विश्वको सबैभन्दा ठूला डिजेमध्ये एकको साथमा काम गर्ने प्रोजेक्टका बारेमा बोल्दै सुशान्तले भन्नुभयो, ‘मैले एक गायक-गीतकारका रूपमा सिर्जना गरेका सबै कुराहरू मेरो उत्कृष्टताबाट निस्केको छ । यस्ता उदाहरण पनि छन्, जब आफ्नो प्रयासले छुटाउन नहुने अवसर आमन्त्रित गर्छ । मलाई यो प्रोजेक्ट निकै राम्रो लाग्छ र यसको हिस्सा हुने चाहना पहिलेदेखि नै थियो ।
अहिले भने साँच्चै त्यो समय आएको छ ।’ सुशान्त केसीको ‘गेट टुगेदर’ को नयाँ रिमिक्स सेप्टेम्बरको अन्तिमसम्ममा दर्शकमाझ उपलब्ध हुने बताइएको छ । डेभिड गुएटाले टुबोर्गसँगको सहकार्यमा लिरिक भिडियो पनि निर्माण गर्नुभएको छ, जुन नेपाली दर्शकले टुबोर्गको फेसबुक पेजमा सुन्न सक्ने कम्पनीले जनाएको छ ।




















