भारत सरकारले नेपाललाई आठ करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्यो।

काठमाडौं:= भारतले नेपाललाई आठ करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ । मिसन उपप्रमुख नामग्या खम्पाले भारत सरकारका तर्फबाट नेपाली रुपैयाँ आठ करोड बराबरको राहत सामग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद माननीय चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

नेपालका १५ जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारका लागि वितरण गरिने राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लिपिङ म्याट र औषधि रहेका छन् । बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल-भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत् राहत सामग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रूपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारतले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमितरूपमा उपलब्ध गराउँदै आएको छ ।

अक्सिजन प्लान्ट हस्तान्तरण

कोरोनाविरुद्धको लडाइँमा नेपालसँग हातेमालो गर्न नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहबीच ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभयो । मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रतिव्यक्ति पाँच एलपीएम (लिटर प्रतिमिनेट) क्षमताको उक्त अक्सिजन प्लान्टको कुल क्षमता नौ सय ६० एलपीएम रहेको छ । प्लान्टको एकसाथ दुई सयजना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता रहेको बताइएको छ ।

सो अवसरमा भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले अक्सिजन प्लान्टको हस्तान्तरण कोरोना सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकका रूपमा रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले उपहारस्वरूप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारका रूपमा रहेको अक्सिजन प्लान्टले नेपाललाई कोरोनाविरुद्घको लडाइँमा थप बल पुग्ने उल्लेख गर्नुभयो ।

धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणका लागि दुई दशकअघि भारत सरकारले गरेको सहयोग कोसेढुंगा भएको चर्चा गर्दै अक्सिजन प्लान्टबाट विशेष गरी प्रदेश १ र २ का जनता लाभान्वित हुने बताउनुभयो । अक्सिजन कोरोना बिरामीको उपचारका लागि स्वास्थ्य सेवा केन्द्र र अस्पतालमा नभइनहुने एक महत्वपूर्ण क्लिनिकल ग्यास हो, जुन भारत र नेपालमा महामारीको दोस्रो लहर देखा पर्दा अनुभव गरिएको थियो । रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) ले निर्माण गरेको मेडिकल अक्सिजन प्लान्टमार्फत् कम लागतमा अस्पतालले अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सक्नेछ । उक्त प्रविधि विकास गर्ने भारत संसारकै चौथो मुलुक हो ।