प्रयोगात्मक अभ्यासबिना प्राविधिक शिक्षाको कुनै काम छैन : अच्युतराज दाहाल।

[ विवेक खड्का ] 

प्रमुख, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय

दाङ := दाङलाई प्राविधिक शिक्षाको हब बनाएर पश्चिम नेपालका विद्यार्थीहरूलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने लक्ष्य राखेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दाङको घोराहीमा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ  ।  यस शिक्षालयमा अहिले डिप्लो तहमा विभिन्न आठवटा विषयको पढाइ भइरहेको छ । आगामी दिनमा थप विभिन्न  कार्यक्रमहरू ल्याउने तयारी शिक्षालयको छ । यसै सन्दर्भमा शिक्षालयको स्थापना, सेवा सुविधा, पढाइ हुने विभिन्न विषय र शिक्षालयको आगामी योजनालगायतका विभिन्न विषयमा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख अच्युतराज दाहालसँग दाङ संवाददाता विवेक खड्काले गर्नुभएको कुराकानी :-

शिक्षालयमा कुन-कुन विषयको पढाइ भइरहेको छ ?

सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अहिले डिप्लोमा तहमा होटल म्यानेजमेन्ट, फरेस्ट्री, प्लान्ट साइन्स, आर्किटेक्चर इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, फार्मेसी, रेडियोग्राफी र मेडिकल ल्याब टेक्नोलोजी गरेर आठवटा विषयको पढाइ भइरहेको छ ।

डिप्लोमा तहका आठवटा कार्यक्रम भनेको त धेरै भएन र ? आगामी दिनहरूमा पनि केही विषय थप गर्नुहुन्छ कि ?

हो धेरै हो । यस क्षेत्रका विद्यार्थीहरूको माग र सीटीईभीटीको नमुना आंगिक शिक्षालय भएकाले यो शिक्षालयमा यति धेरै कार्यक्रमहरू सञ्चालनमा आएका छन् । कार्यक्रम थप गर्ने सम्बन्धमा अब हामीले तत्कालै स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम थप गर्ने योजना गरेका छौं । आगामी दिनमा नजिकैका सरकारी अस्पतालहरूसँग सहकार्य गरेर नर्सिङ र हेल्थ असिस्टेन्ट विषय अध्यापन गर्ने तयारी भइरहेको छ । समयको माग र आवश्यकताअनुसार अन्य प्राविधिक विषयहरू थप गरिनेछ ।

विद्यार्थीहरूको सीप विकासका लागि तपाईँहरूसँग प्रयोगात्मक अभ्यासको व्यवस्था कस्तो छ ?

प्राविधिक शिक्षा भनेकै प्रयोगात्मक शिक्षा हो । प्रयोगात्मक अभ्यासबिना प्राविधिक शिक्षाको कुनै काम छैन ।  विद्यार्थीलाई सीप सिकाउनका लागि सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीले विद्यार्थीहरूलाई ‘पढ्दै कमाउँदै’ को नारा अघि सारेको छ । अब हाम्रो शिक्षालयमा पढ्ने विद्यार्थीहरूले त्यहीँ काम गरेर आम्दानी गर्नेछन् । त्यसका लागि शिक्षालयमा उत्पादन इकाई स्थापना गर्न थालिएको छ । अबको तीन महिनाभित्र उक्त इकाईले काम गर्न सुरु गर्नेछ । केही समय पहिले नै उक्त इकाई सुरु गर्ने लक्ष्य राखिएपछि अहिले कोरोना महामारीका कारण विद्यार्थीहरूको भौतिक उपस्थितिमा काम गर्न नसक्ने भएकाले सुरु हुन सकेको छैन । अबको तीन महिनामा धेरै नेपालीले खोप लगाइसक्ने भएकाले विस्तारै जनजीवन सहज हुने देखिन्छ । जनजीवन सहज भएसँगै विद्यार्थीहरूको भौतिक उपस्थितिमा हामीले काम गर्नेछौं । यसले विद्यार्थीहरूले आफ्नो विषयमा प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्नेछन् भने आम्दानीसमेत गर्न सक्नेछन् । केही समयभित्र पाउरोटी उत्पादन सुरु गरिनेछ । त्यसैगरी फुड एन्ड डेरीका विद्यार्थीहरूले डेरीजन्य वस्तु उत्पादन गर्नेछन् ।

तपाईँहरूको शिक्षालय लुम्बिनी प्रदेशको नमुना शिक्षालयका रूपमा घोषणा गरिएको छ । यो नमुना शिक्षालय भनेको के हो ?

शिक्षालयलाई नमुना घोषणा गर्नका लागि दुईवटा प्रक्रिया हुन्छन् । पहिलो प्रक्रिया भनेको कुनै पनि शिक्षालयमा भइरहेका काम, गतिविधि, प्रगति, भौतिक पूर्वाधारको अवस्था, शैक्षिक गुणस्तर, जनशक्तिको व्यवस्थापनलगायतका मापदण्ड पूरा गरेका उत्कृष्ट शिक्षालयलाई नमुना घोषणा गरिन्छ । अर्को प्रक्रिया भनेको कुनै पनि नयाँ शिक्षालयलाई नमुना घोषणा गरेर त्यसअनुसारको पूर्वाधार, शैक्षिक गुणस्तर, जनशक्ति व्यवस्थापन गर्न बृहत् गुरुयोजना बनाइन्छ र त्यसअनुरूप काम गरिन्छ । हाम्रो शिक्षालय नयाँ हो । अहिले सरकारले घोषणा गरेको नमुना शिक्षालयअनुसार विभिन्न काम भइरहेको छ । पूर्वाधार निर्माणको काम भइरहेको छ । जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । शैक्षिक गुणस्तर विकासका लागि कामहरू भइरहेका छन् । अबको पाँच वर्षभित्र हाम्रो शिक्षालय सरकारी घोषणाअनुरूप साँच्चिकै नमुना शिक्षालय हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

अहिले कुन क्षेत्रका विद्यार्थीहरूले यहाँ अध्ययन गरिरहेका छन् ?

हाम्रो शिक्षालयमा अहिले लुम्बिनी प्रदेशबाहेक कर्णाली, प्रदेश नं ७, प्रदेश नं २, गण्डकी प्रदेश र बागमती प्रदेशका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् । सस्तो शुल्कमा पढाइ हुने भएकाले टाढा–टाढाका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् ।

नेपालमा प्राविधिक शिक्षाको महत्व कत्तिको देख्नुहुन्छ ?

प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो । अब हामीले डिग्री शिक्षा हासिल गरेरमात्र हुँदैन । मुख्य कुरा सीप हो । प्राविधिक शिक्षाले विद्यार्थीहरूलाई अनिवार्यरूपमा सीप सिकाउँछ । सीप सिकेपछि रोजगार र स्वरोजगारका अवसरहरू मिल्छन् । यसले हाम्रा सन्ततिहरूलाई आत्मनिर्भर बनाउँछ । अब हाम्रा विद्यार्थीहरूले ज्ञानमात्र जानेर पुग्दैन । ज्ञानका साथै सीप जीवनका लागि निकै महŒवपूर्ण कुरा हो । हामीले हाम्रा विद्यार्थीहरूलाई मुलुकको आवश्यकताका आधारमा प्राविधिक शिक्षा दिनुपर्छ । नेपालमा लामो समयसम्म परम्परागत ढंगले विद्यार्थीहरूलाई अध्यापन गर्ने काम भयो । पछिल्लो समय देशैभरि प्राविधिक शिक्षालयहरू खुलिरहेका छन् । सबै स्थानीय तहहरूमा प्राविधिक शिक्षालयहरू खोल्ने सरकारको योजना हो । प्राविधिक शिक्षा अहिलेको अनिवार्य शर्त बनिसकेको छ । पछिल्लो समय विद्यार्थीहरूमा प्राविधिक शिक्षाप्रति हृवात्तै आकर्षण बढेको छ । मुलुकको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन अहिलेको प्रमुख आवश्यकता हो ।

प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरूले कत्तिको रोजगारी पाएका छन् ?

हाम्रो शिक्षालय नयाँ भएकाले यहाँबाट विद्यार्थीहरूले अध्ययन गरेर रोजगारी पाएका त छैनन् । किनकि अहिलेसम्म पनि यहाँबाट उत्तीर्ण गरेर विद्यार्थीहरू गइसकेको अवस्था छैन । तर, म योभन्दा पहिले चितवन र नेपालगञ्जमा रहेर लामो समयसम्म काम गरँे । त्यहाँ अध्ययन गरेका विद्यार्थीहरूले राम्रो रोजगारी पाएका छन् । केही विद्यार्थीहरू स्वरोजगारमा लागेका छन् । प्राविधिक शिक्षा भनेकै रोजगारीमूलक शिक्षा हो । हामी यहाँ सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा पनि सुरुदेखि नै चनाखो भएर काम गरिरहेका छौं । यहाँ उत्पादन भएका हाम्रा सबै विद्यार्थीहरू रोजगार तथा स्वरोजगारमा लागून् भन्ने हाम्रो चाहना रहेको छ । हाम्रा उत्पादन भएका विद्यार्थीहरू रोजगारीको बजारमा राम्रोसँग बिक्न सक्छन् भन्नेमा पूर्ण विश्वास रहेको छ ।

अन्त्यमा केही भन्नु थियो कि ?

शिक्षालयको भर्ना अभियान चलिरहेका बेला हामीलाई आफ्नो कुरा आमविद्यार्थी र अभिभावकहरूसमक्ष राख्न दिएकोमा तपाईँ र तपाईँको मिडियालाई धन्यवाद । अनि आमअभिभावक र विद्यार्थी भाइबहिनीहरू हाम्रो शिक्षालयमा पढाइ हुने विषय अन्यत्र गएर पढ्नुभयो भने निकै महँगो शुल्क लाग्ने गर्छ, त्यसैले सर्वप्रथम त हाम्रो शिक्षालयमा आउनुहोस् सबै कुरा बुझेरमात्र आवेदन फारम भर्नुहोस् । तपाईँहरूलाई नै सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिन हामी यहाँ बसेका छौं ।