काठमाडौं:= निरन्तरको वर्षाका कारण देशभरि आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको छ । विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले क्षति गर्न थालेपछि गृहमन्त्री बालकृष्ण खाँडले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शुक्रबार छलफल गर्नुभएको छ । गृह मन्त्रालयमा भएको छलफलमा मन्त्री खाँडले प्राकृतिक विपत्तिबाट समस्यामा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ । विपद व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उहाँले क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व-तयारी गर्न निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म यहाँहरू विपत्तिमा परेकाहरूको उद्धार, राहत र आवश्यक परेको स्थानमा बस्ती स्थानान्तरण गर्न देखाएको क्रियाशीलता सराहनीय छ । वर्षात अझै पर्ने सम्भावना बलियो छ । क्षति पुर्याउने सम्भावना भएका स्थानमा कसरी रोक्न सकिन्छ । पूर्व-तयारी गर्नुहोला । सबैको समन्वयनमा काम भइरहेकै छ । अझै पनि समन्वयमै काम हुन आवश्यक छ ।’
कतिपय स्थानमा पुल बगेर सडक अवरुद्ध मुख्य राजमार्ग नै अवरुद्ध भएका, कतिपय स्थानमा पहिरोले राजमार्ग अवरुद्ध भएका र बढी वर्षात भएका कारण गाउँ र बस्ती नै डुवानमा परेकाले ती अवस्थाबाट सहजतामा ल्याउन के गर्नुपर्ने हो समन्वयमा गर्न मन्त्री खाँडले निर्देशन दिनुभयो ।
यस्तै, गृहसचिव टेकनारायण पाण्डेले अझै वर्षात हुने सम्भावना रहेकाले समन्वयमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘विपद्मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्नुहोला ।’
बैठकमा मन्त्रालयकी विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले वर्षातपछि अहिलेसम्म भएको प्राकृतिक विपत्तिबारेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार जेठ ३१ गतेदेखि अहिलेसम्म ८५ जनाको मृत्यु भएको, ४४ जना बेपत्ता छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको तथा विभिन्न स्थानमा बाढी र पहिरोले क्षति गरेको छ ।
बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुंगान, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, जलस्रोत तथा सिञ्चाइ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा वर्षादपछि भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो ।
कतै डुबान, कतै बाढीपहिरो
लगातारका वर्षापछि कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । जिल्लाको लम्किचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारूको मृत्यु भएको हो । बिहीबार साँझ लुगा धुँदै गर्नुभएकी थारूलाई अचानक खोलामा आएको बाढीले बगाएर बेपत्ता पारेको थियो । उहाँको शुक्रबार करिब सात किलोमिटर पर पु¥याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
लम्कीचुहा नगरपालिकामै दुईजना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका-३ बल्चौरमा बिहीबार राति घरमाथिबाट खसेर पहिरोले ७५ वर्षीय गोपाल चौधरी र उनकी श्रीमती ७२ वर्षीय गौरी चौधरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस्तै, अविरल वर्षापछि गोदावरी नदीले कटान गरेर गोदावरी नगरपालिका-४ रहेको काठे पुले र ४२ वर्षीय गणेशदत्त पाण्डेको टिनले छाएको एक कोठे किराना पसल र प्रतीक्षालय बगाएको छ । गोदावरी नगरपालिका-१२ हलौडेमा स्थानीय मानबहादुर धामीले ५-६ कठ्ठामा लगाएको धानबाली नष्ट गरेको छ ।
यस्तै, जिल्लाका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाभरि एक सयभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । त्यसैगरी, कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले भाद्र ११ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा भाद्र १० गते घाँस काट्न गएकोमा पानीको बहाव पढ्न गई उक्त नदीको बीच टापुमा फसेका थिए ।
उता, नवलपरासीमा अविरल वर्षाका लागि ठूलो क्षति भएको छ । जिल्लाको हुप्सेकोट-४ माथिल्लो चारघरे रुम्सीमा पहिरोमा परी एकैघरका तीन जना बेपत्ता भएका छन् । एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
प्रहरीका अनुसार चारघरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरूपमा क्षति पु¥याएको छ । बेपत्ता हुनेमा पुलामीकी ४० वर्षीया श्रीमती धनमाया पुलामी, उहाँका सात वर्षीया नातिनी भूमिसरा पुलामी र ६ वर्षीया नातिनी देउमाया पुलामी रहेका छन् । यसैगरी, पश्चिम नवलपरासी जिल्लाको पालिनन्दन गाउँपालिका–३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले भाद्र ११ गते सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने ४८ वर्षीय अजित अन्सारी, २५ वर्षीय शैलेश गुप्ता र २३ वर्षीय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्माड खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको प्रयोग गरी उनीहरूलाई बगाएको स्थानदेखि करिब ५ सय मिटर तलबाट सकुशल उद्धार गरेको हो ।
यस्तै, उदयपुरमा पहिरोमा पुरिएर एकजना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको कटारी नगरपालिका-२ मिलन चौकका सात वर्षीय बालक कर्णमगर पहिरो झरी घाइते हुनुभएको थियो । उपचारको लागि कटारी अस्पताल लाँदै गर्दा बालकको बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचानक माथिबाट पहिरो झर्दा शख्त घाइते भएका थिए ।
उता, सिन्धुलीमा पहिरोले तीन घर पुरेको छ । दर्जनौं घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले कमलामाई नगरपालिका-११ फिटिङमा भीममाया वाइवाको एकवटा र छत्रबहादुर स्यांग्बाको दुईवटा घर पुरेको हो । उक्त घरसँगै जोडिएका अन्य नौ घर उच्च जोखिममा परेका छन् ।
पहिरो जान थालेपछि घरमा रहेका सबैजना भागेको पीडित वाइवाले बताउनुभयो । उहाँले भन्नुभो, ‘मसँग अहिले ओत लाग्ने त्रिपालसमेत छैन ।’
कमलामाइकै वडा नम्बर-७ एकपाखेमा पहिरोले दुई घर जोखिममा परेका छन् । सिन्धुलीमाडी-चकमके सडकसमेत बगाउने गरी खसेको पहिरो घरनजिक पुगेको छ । वडा–४ को चिसापानी झोरामासमेत पहिरो खस्दा चार घर जोखिममा परेका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । यस्तै, सदरमुकाम बसपार्क नजिक ग्वाङ खोलाको कटानबाट पहिरो गएको एक फ्रेस हाउस जोखिममा परेको छ ।
जिल्लामा बाढीले धान खेत कटान गरेको, घर क्षति गरेको, घरहरू बाढीको जोखिममा रहेको, सडक अवरुद्ध भए पनि अहिलेसम्म बाढी र पहिरोका कारण मानवीय क्षति हुनबाट भने बचिएको उहाँले बताउनुभया ।
उता, सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।
राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ । मुलुककै पहिलो टाउनप्लानिङ सहरका रूपमा रहेका राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्सामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिएको थियो ।
पानी निकासका लागि ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेर सवारीसाधन गुड्न निकै समस्या हुने गरेको गाडी चालक बताउँछन् । मुख्य बजार क्षेत्रकै सडक पनि जीर्ण भएका कारण दर्जनौँ खाल्डा रहेका छन् ।
राजविराजको पानीट्यांकी सडकदेखि राममन्दिरसम्म समान्य वर्षामा पनि पूरै सडक हिलाम्मे हुने गरेका छन् । फलस्वरूप सवारीसाधन र सर्वसाधारण मानिसलाई हिँड्नसमेत सास्ती भग्नुपर्ने बाध्यता रहेको राजविराजका श्रवण दासले बताउनुभयो ।
यस्तै, म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगङ्गा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ ।
तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरूपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत साउन ८ गते धौलागिरि गाउँपालिका-१ खास्टा भन्ने ठाउँमा पहिरो खसेर म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिँदा बनेको तलाउ अझै छ । रघुगङ्गा र गुर्जाको तलाउ एकैपटक फुटेर बगेका अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
यस्तै, अविरल वर्षाका कारण जिल्लाका धेरैजसो स्थान जलमग्न भएको छ । लगातारको वर्षाका कारण एकदर्जन भन्दा बढी स्थानीयवासीका घरमा पानी पसेको छ ।
सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी, मर्चवार, रुद्रपुरलगायत ठाउँमा वर्षाले बढी असर गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।
वर्षाका कारण बुटवलको तामनगरस्थित पत्रकार हरिश ढकालको पक्की घरमा क्षति पुगेको छ । उहाँको घरमा थप क्षति हुन नदिन सशस्त्र प्रहरी टोलीले तारजाली लगाएको छ ।
बाढी प्रभावितहरूलाई राहत
भारत सरकारले नेपालका बाढी प्रभावितहरूका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरूका लागि भारत सरकारले नेपाल भारत महिलामैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरेको हो ।
भारतीय राजदूताबासकी मिशन उप-प्रमुख नामग्या खम्पाले नेपाल भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि वितरण गर्न लागिएको टेन्ट, प्लाष्टिक सिट, स्लिपिङ म्याट र औषधिहरू हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण गर्दै मिशन उप-प्रमुख नामग्या खम्पाले राहत वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौंदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले यस सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले बाढी प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा र लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका बाढी प्रभावितहरूका लागि मंगलबारदेखि वितरण गरिने जानकारी दिनुभयो ।
प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका बाढी तथा पहिरो पीडितका लागि राहत सामग्री वितरण गर्ने बताउनुभयो । उहाँले आफूहरू सम्बन्धित ठाउँमै पुगेर वास्तविक प्रभावितलाई राहत सामग्री उपलब्ध गराउने जानकारी गराउनुभयो ।


















