आगामी आम चुनावमा कांग्रेसलाई देशभर बहुमत ल्याउने बनाउन सभापतिमा मेरो उम्मेदवारी : निधि
काठमाडौं:= नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित दौडधुप सुरु भएको छ । वडा अधिवेशन आउन एक साताभन्दा कम समय बाँकी रहँदा नेताहरूको दौडधुप सुरु भएको हो । एकातिर क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापतिहरूको अनशन जारी छ भने अर्कोतिर महाधिवेशन केन्द्रित दौडधुप पनि बढेको छ । शुक्रबार बिहानै संस्थापनइतर समूहका नेताहरू छलफलमा जुटे भने मध्यान्न उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । शुक्रबार नै केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्य विवरण पाएको ३८ जिल्लामा निर्वाचन प्रतिनिधि पठायो ।
निधिको सम्पर्क कार्यालय शुभारम्भ
कांग्रेस उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको शुभारम्भ गर्दै आगामी निर्वाचनमा तीनवटै तहमा नेपाली कांग्रेसलाई बहुमतमा ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएका निधिले आफूले कसैलाई पराजित गर्न र अक्षम घोषित गर्न सभापतिको उम्मेदवार बन्न नखोजेको स्पष्ट पार्नुभयो ।
‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी आम चुनावमा देशको सबै तहको चुनावमा जिताउन हामी सफल हुनेछौँ । मेरो सम्पूर्ण ध्यान आगामी आम चुनावमा नेपाली कांग्रेसलाई देशभर बहुमत प्राप्त गराउनका लागि आफ्नो बुद्धि, विवेक र संगठनलाई एकताबद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो । म कसैलाई पराजित गर्न, कसैलाई अक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नको लागि म सभापतिको उम्मेदवार हुन खोजेको होइन ।’
उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो । ‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनताको बीचमा गएर भन्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लावारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । त्यसको सफल सञ्चालन र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो ।’ नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रूपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न पौडेल समूहकोे माग
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न माग गरेको छ । पूर्व–महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बसेको बैठकले भदौ १८ गते हुने वडा अधिवेशन ७७ वटै जिल्लामा एक साथ गर्न माग गरेको हो ।
‘बैठकले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ,’ बैठकपछि नेता डा. मीनेन्द्र रिजालले भन्नुभयो । उहाँले बैठकमा क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न सभापति देउवालाई दबाब दिने निष्कर्ष पनि निकालिएको बताउनुभयो ।
बैठकले महाधिवेशन प्रक्रियामा देखिएका व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफल गर्ने निर्णय गरेको रिजालले जानकारी दिनुभयो । ‘अधिवेशनको प्रक्रियामा केही व्यावहारिक कठिनाइहरू छन् । तिनलाई समाधान गर्नुपर्छ । केही सभापतिहरू क्रियाशील सदस्यताको विषयमा धर्नामा हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै कठिनाइ समाधान गरेर अधिवेशन सुनिश्चित गर्न सभापतिसँग संवाद गर्ने निर्णय भएको छ ।’ बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व-महामन्त्री सिंहसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो ।
३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि
कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाउनुभएको हो । ३८ जिल्लाको क्रियाशील सदस्यता नामावली बुझाएसँगै केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको क्रियाशील सदस्यता सूचीका आधारमा ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो । निर्वाचन समितिको मागबमोजिम संगठनमा आबद्ध सबै जिल्लाका कानुनी व्यवसायीको नामावलीबाट निर्वाचन समितिले निर्वाचन अधिकृत चयन गरेको हो । निर्वाचन अधिकृतले जिल्लामा रहेर स्थानीय संरचनामा हुने अधिवेशनका प्रतिनिधि चयन गर्नेछन् ।


















