काठमाडौं:= माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । सो पार्टीकै कारण अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनले नेपाललाई अहिलेसम्म पर्खिएका कारण सरकारलाई पूर्णता दिन ढिलाइ भइरहेको बताउँदै आएका छन् ।
सरकारमा सहभागी हुने निर्णय गरे पनि सो पार्टीले मन्त्री चयन भने गरेको छैन । कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेपछि मात्रै मन्त्रीहरूको नाम टुंगो लाग्ने बैठकमा सहभागी एक नेताले हिमालय टाइम्सलाई बताउनुभयो । गठबन्धनका नेताहरूबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको बताइए पनि कुन मन्त्रालय कसलाई दिने ? भन्ने टुंगो लाग्न सकेको छैन ।
बैठकमा सहभागी ती नेताले भन्नुभयो, ‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौँ । मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ । तर, कुन-कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।’ २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।
यस्तै, आइतबार दलको नेता चयन गर्ने तयारी पनि नेकपा (एस)ले गरेको छ । भदौ ९ मा पार्टीको वैधानिकता पाएपछि पहिलो पटक बसेको स्थायी कमिटी बैठकले आइतबार दलको नेता चयन गर्ने निर्णय गरेको थियो । दलको नेता चयन भएपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् । तर, दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरू सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरूको दाबी रहेको छ ।
शुक्रबार नै नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी गठन गरेको थियो । नेकपा एमालेमा हुँदा स्थायी कमिटी सदस्यहरू रहेका पाँच जना नेताहरू सम्मिलित कमिटी बनाइएको हो ।
स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल हुनुहुन्छ । राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी रहेको बताइएको छ । एकीकृत समाजवादीको पदाधिकारीसमेत टुंगिएको छैन ।
पदका लागि पार्टी परिवर्तन गर्दिनँ : शाक्य
बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पद बचाउनका लागि माधव नेपालको पार्टीमा नजाने प्रष्ट पार्नुभएको छ । नेपालले नयाँ पार्टी दर्ता गराएपछि एमालेमै रहेर मुख्यमन्त्री बन्नुभएकी शाक्यले सरकार जोगाउनकै लागि नेकपा एमाले पार्टी परिवर्तन गरेर अन्य पार्टीमा नजाने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सत्तामा टिक्नकै लागि हो भने त मलाई वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलजीले पहिल्यै मुख्यमन्त्रीको प्रस्ताव गर्नुभएको थियो । अहिले पनि म नेकपा एमाले एकताबद्ध बनाउनकै लागि यस्तो परिस्थितिमा मुख्यमन्त्री बनेकी हुँ । म आफूले लामो समयसम्म संघर्ष गरेर आएको नेकपा एमाले पार्टीमै रहनेछु । सत्ताको लोभ छैन म कहिल्यै पनि पार्टी फुटको पक्षमा छैन । नयाँ पार्टीमा म जान सक्दिनँ ।’
नेपालले एमाले विभाजन गरी नयाँ पार्टी दर्ता गराएकै दिन उहाँ मुख्यमन्त्री नियुृक्त हुनुभएको थियो । सभाको सबैभन्दा ठूलो दलको नेताका हेसियतमा मुख्यमन्त्री बनेपछि शाक्यले विश्वासको मत भने लिनुपर्नेछ । प्रदेशसभामा रहेको सांसदहरू एमाले र नेपाल नेतृत्वको समाजवादी पार्टीमा विभाजित भएमा भने उहाँ अल्पमतमा पर्ने देखिएको छ ।
११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा एकजना सदस्यको मृत्यु भएपछि हाल १०९ सदस्य छन् । सरकार गठनको लागि ५६ जना सांसद आवश्यक पर्नेमा एमाले एक्लैसँग ५६ जना सांसद रहेका छन् । जसमा राजेन्द्र पाण्डे, वसन्त मानन्धर, कृष्णप्रसाद शर्मा खनालले नेपाल नेतृत्वको पार्टीमा जाने पक्का भएको छ । अझै अरू सांसदहरू पनि नेपाल नेतृत्वको पार्टीमा जाने देखिएको छ । यो अंकगणितले शाक्य अल्पमतमा पर्ने देखिन्छ । प्रदेशसभा सांसदहरूलाई एमाले र एकीकृत समाजवादी पार्टीबीच एउटा छनोट गर्न अब १८ दिन मात्रै समय बाँकी छ । शाक्य अल्पमतमा परेमा गठबन्धनले सरकार बनाउने अवस्था रहेको छ ।



















