मेचीनगरमा ५० लाखको गोबर ग्यास प्लान्ट वर्षौंदेखि प्रयोगविहीन, बन्यो फोहोर फाल्ने डष्टबिन।

झापा:= झापाको मेचीनगरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ । पूर्व-पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण मेचीनगर नगरपालिका-१० स्थित टिमाई पुलनजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरभित्र प्रयोगविहीन गोबर ग्यास प्लान्ट अहिले जीर्ण अवस्थामा रहेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ बराबरको बजेट खर्चिएर पशुहाट बजारभित्र गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो । मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा सरकारको लाखौँ लगानी खेर गएको स्थानीयवासीले बताएका छन् । गोबर ग्यास प्यान्ट क्षेत्र अहिले फोहोर मैला फाल्ने डष्टबिनमा परिणत भएकोमा स्थानीयले गुनासोसमेत पोखेका छन् ।

लामो समय जनप्रतिनिधिविहीन भएको अवस्थामा नगरपालिका कर्मचारी संयन्त्रको पालनामा सो प्लान्ट निर्माण गरिएको थियो । प्यान्ट निर्माण सम्पन्न भएपछि आफूहरूले त्यसको प्रत्यक्ष सुविधा लिने आशा पलाएको बताउँदै स्थानीय राजकुमार दनुवारले भन्नुभयो, ‘तर, त्यो अवस्था नगरपालिकाले दिएन, प्रयोगविहीन हुँदा अहिले सो प्यान्ट जीर्ण अवस्थामा छ, जहिले पनि भत्किन सक्छ ।’

‘नगरपालिकाको बेवास्ताका कारण सो क्षेत्र दुर्घटना घट्न सक्ने जोखिममा परिणत भएको छ, गाउँघरका केटाकेटी खेल्ने क्रममा प्लान्टभित्र लडे भने अकालमै ज्यान गुमाउनुपर्ने हुन्छ ।’

हाम्रो गाउँघरनजिकै नगरपालिकाले प्यान्ट त बनायो, तर यसलाई प्रयोग नल्याउँदा सरकारको लाखौँ बजेट मात्र डुबाएकोमा स्थानीय कुमारी दनुवारले चिन्ता व्यक्त गर्नुभयो । ‘नगरपालिकाले त्यो बजेटबाट प्यान्ट निर्माण नगरी खोलामा तटबन्ध लगाएको भए सहज हुन्थ्यो,’ उहाँले भन्नुभयो ।

लामो समयसम्म प्लान्टलाई प्रयोगमा नल्याउनुको पछाडि नगरपालिकाका कर्मचारीहरूको मिलेमतो र कमिसनको खेल हुनसक्ने स्थानीयले आरोपसमेत लगाएका छन् । नगरपालिकाले समयमै प्लान्टलाई प्रयोग ल्याउनुका साथै संरक्षण गर्दा अहिले त्यसलाई भत्काउनुपर्ने अवस्था आउने थिएन । लामो समय प्रयोगविहीन हुँदा अब त्यसलाई भत्काउनुबाहेक अन्य विकल्प नरहेको मेचीनगर नगरपालिका १० नम्बर वडा अध्यक्ष सुदय पनेरुले हिमालय टाइम्सलाई बताउनुभयो ।

‘दीर्घकालीन योजना बगेर नगरपालिकाले लाखौँ बजेट खर्चिएर प्लान्ट बनाउनु कार्य नै त्यसबेला गलत भयो,’ वडा अध्यक्ष पनेरुले भन्नुभयो, ‘प्यान्ट त बनाइयो, तर यसलाई एकचोटि पनि सुचारु गरेको मेरो जानकारी छैन, कसले, कसरी र कसको योजनामा प्लान्ट बनाएको यस विषयमा खोज्नुपर्ने अवस्था आएको छ ।’ सरकारको लाखौँ रकम डुबाउने योजना सरासर गलत भएको उहाँको भनाइ छ ।