कांग्रेसमा क्रियाशील सदस्यता विवाद मिल्यो, किचलो कायमै!

काठमाडौं:= नेपाली कांग्रेसमा डेढ वर्षदेखि मिल्न नसकेको क्रियाशील सदस्यता विवाद समाधान भएको छ । सोमबार अबेर विवाद समाधान गर्न गठित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले बाँकी विवादलाई टुंगो लगाएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको हो । सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएसँगै क्रियाशील समस्या समाधान भएको बताइएको छ । कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यता टुंगो लगाएको हो । प्रतिवेदनमा केही क्षेत्रको नवीकरण तथा सदस्यता वितरणको काम अझै बाँकी रहेको उल्लेख छ । तर, त्यसलाई समाधान गर्न नेताहरूलाई जिम्मेवारी पनि तोकिएको छ ।

तर, क्रियाशील विवाद समाधान भएको भनिएको भोलिपल्टै फेरि अर्को लफडा सुरू भएको छ । संस्थापनइतर समूहका सभापतिहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै पौडेल पक्षका जिल्ला सभापतिहरूले मंगलबार बिहान सानेपामा धर्ना दिएका हुन् । अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिनगरी सदस्यता सूचीलाई अन्तिम रूप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् ।

धनार्मा सहभागीहरूले सूचिकृत सबै क्रियाशीलको नाम हेर्न पाउनुपर्ने माग गरेका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकाले धर्ना बसिएको कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो । त्यस्तै, सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्नेलगायत माग राखेर धर्ना दिइएको बताउनुभयो । ‘कांग्रेस क्रियाशील सदस्यकाबारे जानकारी पाउनु हरेक सदस्यको संवैधानिक अधिकार हो । आज मेरो क्रियाशील छ कि छैन भनेर प्रश्न उठाउनुपर्ने अवस्था छ ।’ उहाँले भन्नुभयो, ‘यही माग हामीले सभापतिलाई इमेलमार्फत जानकारी गरायौँ । यसबीचमा उहाँलाई पटक पटक भेट्ने प्रयास पनि गर्‍यौँ । तर, मिलेन ।’

शनिबार नै जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गरेर विवाद मिलाउन दुई दिन समय दिन र आगामी महाधिवेशनमा जिल्ला सभापतिका लागि निर्वाचन निर्देशकामा गरिएको विभेदपूर्ण व्यवस्था सच्याउनलगायत माग राख्दै सभापति देउवालाई ज्ञापनपत्र बुझाएका थिए । दुई दिनको समय दिएकोमा माग पूरा नभएपछि पूर्व–निर्धारित कार्यक्रम अनुरूप धर्ना दिइएको उहाँले बताउनुभयो । ‘क्रियाशीलको नाम सार्वजनिक हुनुपर्छ । म क्रियाशील सदस्य छु कि छैन प्रत्येक व्यक्तिले हेर्न पाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘को छ को छैन हेर्न पाउनुपर्छ । नाम वा थरलगायत केही बिग्रेका छन् भने दुई दिन समय दिएर सच्याउने मौका पाउनुपर्छ । क्रियाशील को को हो पनि नभनीकन अधिवेशनको के औचित्य भो त ?’ माग सम्बोधन नभएसम्म धर्ना जारी रहने र थप सशक्त बनाइने उहाँले बताउनुभयो । साथै उनीहरूले महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापति उठ्न पाउने विधानको व्यवस्था लागू गरिनुपर्ने बताएका छन् । एक निर्वाचन क्षेत्र भएको ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेकोमा जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् । वडा अधिवेशनको मुखमा सुरु भएको धर्नाले त महाधिवेशन प्रभावित हुने भो नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यसै पनि हाम्रो वैधानकिता भदौ २३ मा सकिँदै छ । मंसिरमा केन्द्रीय अधिवेशन भनेका छौँ । दुई दिन समय दिँदैमा के हुन्छ र ? क्रियाशील सदस्यको नामावली अहिले नै सार्वजनिक नगरेमा भदौ १८ गते हुने वडा अधिवेशनमा लफडा हुनसक्ने संकेत उहाँले गर्नुभयो ।

धर्नामा गोपालमानदेखि गगनसम्मको साथ

जिल्ला सभापतिको धर्नालाई कांग्रेसका केही केन्द्रीय सदस्यहरूले समेत समर्थन जनाएका छन् । जिल्ला सभापतिहरूको धर्नामा नेता गोपालमान श्रेष्ठदेखि गगन थापासम्मले ऐक्यबद्धता जनाउनुभयो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पनि धर्नास्थल पुग्नुभएको थियो । नेतात्रयले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर धर्नामा ऐक्यबद्धता जनाउनुएको हो । धर्ना कार्यक्रमलाई समर्थन जनाउँदै नेता थापाले आफू कर्तव्य पूरा गर्न ऐक्यबद्धता जनाउँदै धर्नामा आएको बताउनुभयो । ‘नेपाली कांग्रेसको सदस्यता नलिएको व्यक्तिलाई पनि सदस्यता विवादबारे कुरा उठाउने हक हुन्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी सार्वजनिक संस्था हो । हामी महाधिवेशन गर्न सकिरहेका छैनौं । देशमा संविधानको शासन हुनुपर्छ भनेर लड्ने कांग्रेस आफूभित्र चाहिँ विधानलाई अक्षर अक्षर पालना गर्न सकेन ।’ उहाँले विधानले नै नचिन्ने छानबिन समितिले सदस्यता विवादबारे अध्ययन गरेको समेत दाबी गर्नुभयो । त्यस्तै धर्नामा ऐक्यबद्धता जनाउन पुग्नुभएका नेता अर्जुननरसिंह केसीले जायज मागलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

यता ४५ दिनदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी एउटा धर्ना कार्यक्रम स्थगन गरिएको छ । विधान र मापदण्डविपरीत वितरण गरिएका क्रियाशील सदस्यहरू खारेजीको माग गर्दै डेढ महिनादेखि धर्ना दिइएको थियो । क्रियाशील विवाद समितिले ५० प्रतिशत माग सम्बोधन गरेकाले स्थगन गरिएको नेताहरूले बताएका छन् ।

सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताउनुभएको छ । सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता सार्वजनिक गरिने उहाँले बताउनुभयो । प्रवक्ता शर्माले निर्वाचन समितिलाई सभापति देउवाले क्रियाशील सदस्यता हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभयो । निर्वाचन समितिले सदस्यता प्राप्त गरेलगत्तै सूची सार्वजनिक गर्ने भन्दै जिल्ला सभापतिहरूलाई केही दिन प्रतीक्षा गर्न उहाँले आग्रह गर्नुभयो ।

कांग्रेसले १३ माघ, ०७६ मा पहिलो पटक महाधिवेशनको कार्यतालिका ल्याउँदा चार महिनाभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने मिति तोकेको थियो । तर, त्यसको १५ महिना ढिला गरी सदस्यताको टुंगो लगाएको हो । क्रियाशील सदस्यता विवादकै कारण तीनपटकसम्म तोकिएको मितिमा महाधिवेशन हुन सकेन । अहिले फेरि भदौ १८ बाट वडा अधिवेशन सुरु गरेर मंसिर ९ देखि १३ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका छ । तर, क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग राख्दै जिल्ला सभापतिहरूले सुरु गरेको धर्नाका कारण पुनः तोकिएकै समयमा वडा अधिवेशन हुनेमा आशंका गर्न थालिको छ ।