बार्सिलोना:= विश्वमा मानिसहरूको सोख यति धेरै बढेको छ कि जुन कुरामा पनि प्रतिस्पर्धा नै चल्ने गरेको छ । विश्वमा एकातिर गरिबीले पराकाष्ठा नाघिरहेको छ भने अर्कोतर्फ पैसा केमा खर्च गरौं भन्ने जमात पनि उत्तिकै छन् । यस्तै एक रमाइलो प्रसंग लियोनल मेस्सीले बार्सिलोना छाड्नेक्रममा देखिएको छ ।
बार्सिलोनाबाट बाहिरिने बेलामा मेस्सी निकै भावुक हुनुभएको थियो । स्टेजमा पुगेपछि उहाँले आफ्नो आँसु रोक्न सक्नुभएको थिएन । उहाँले आफ्नो औपचारिक बिदाइको बोली बोल्नुअगाडि करिब साढे एक मिनेट रुनुभएको थियो । उहाँले आफ्नो आँसु र रुँदाखेरी नाकबाट बगेको पानीलाई पुछेको त्यो टिस्यु पेपर अहिले करोडौं रुपैयाँमा बिक्री भएको छ । त्यतिबेला उहाँकी श्रीमती एन्टोनेलाले उहाँलाई आँसु पुछ्नका लागि टिस्यु पेपर दिनुभयो । रिपोर्टका अनुसार मेस्सीको आँसुले भरिएका यी टिस्यु पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रीमा राखिएको थियो ।
उहाँले आँसु पुछेको त्यो टिस्यु पेपर एक अज्ञात व्यक्तिले १० लाख अमेरिकी डलरमा खरिद गरेका छन् । मेस्सीले बिदाइ कार्यक्रममा जति पनि टिस्युहरू प्रयोग गर्नुभएको थियो, सबै बटुलेर अनलाइनमा बिक्रीमा राखिएको हो । मेकेडुयो नामका एक व्यक्तिले मेस्सीले प्रयोग गरेको टिस्यु बेच्नुभएको समाचारहरूमा जनाइएको छ । मेकेडुयोले टिस्युहरू बेच्न जारी गरेको विज्ञापनमा टिस्युमा मेस्सीको जेनेटिक्स पनि समावेश भएको भन्नुभएको छ । जसमा एक अज्ञात व्यक्तिले तीन टिस्युहरूलाई खरिद गरेको बताइएको छ ।
३४ वर्षका यी खेलाडीले २१ वर्ष बार्सिलोनासँग बिताएपछि यसबाट बिदा हुनुभएको छ । अहिले उहाँ आफ्नो नयाँ टिम पेरिस सेन्ट–जर्मेन (पीएसजी) का लागि अभ्यासमा हुनुहुन्छ । लियोनेल मेस्सी ६७२ गोलसहित बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ । उहाँले बार्सिलोना क्लबसँग ७७८ खेल खे खेल्नुभयो, जुन एक रेकर्ड हो । उहाँ ५२० म्याचमा ४७४ गोलसहित स्पेनिस लिगमा पनि शीर्ष स्कोरर हुनुहुन्छ । मेस्सीलाई फुटबल जगत्का महान खेलाडीका रूपमा चिनिन्छ ।




















