काठमाडौं:= मकै हाम्रो देशको प्रमुख खेती हो । पहाड र तराईमा यसको खेती गर्ने गरिन्छ । मकैका विभिन्न परिकार बनाएर खाने गरिन्छ । पाकेको मकैका विभिन्न परिकार बनाएर खान सकिन्छ भने काँचो मकैका पनि विभिन्न परिकार बनाउन सकिन्छ । यसलाई यत्तिकै आगोमा पोलेर पनि हामी खाने गर्छौं । तर, तपाईं हामीमध्ये हामीले खाइरहेको मकैले कस्तो फाइदा पुर्याउँछ थाहा नहुन सक्छ । आउनुहोस्, जानौं मकैले हाम्रो शरीरलाई के–कस्ता फाइदा पुर्याउँछ भनेर ।
मकै हाम्रो शरीरका लागि अत्यन्त लाभकारी खानेकुरा मानिन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ । मकै खाँदा रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ ।
मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरजस्ता थुप्रै पोषक तत्वको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरू ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायता गर्दछ ।
यस्ता छन् मकैका केही फाइदा
क्यान्सरबाट जोगाउँछ
मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ भनिन्छ । यसका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ ।
हड्डीलाई बलियो बनाउँछ
हड्डीलाई बलियो बनाउनका लागि तपाईं दूध र भिटामिन डीको सेवन गर्नुहुन्छ । तर, तपाईंलाई थाहा नहोला, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।
छालालाई चम्किलो बनाउँछ
छालालाई चम्किलो बनाउनका लागि तपाईं के मात्र गर्नुहुन्न तर मकैको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । वास्तवमा मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ ।
आँखाका लागि फाइदाजनक
मकैमा बिटा-क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाका लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योति बढाउँछ । यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।
अल्छी हटाउँछ
यदि तपाईंलाई अल्छी लाग्छ र शरीरमा ऊर्जा छैन जस्तो अनुभव हुन्छ भने मकैको सेवन गर्नुहोस् । मकैमा कार्बोहाइड्रेट हुन्छ, जसले शरीरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईंलाई धेरै बेरसम्म ऊर्जावान् राख्दछ ।




















