अडिसनमा विश्वास राख्ने साक्षी।

काठमाडौं:= विशेषगरी चलचित्र, टेलिचलचित्र अथवा कुनै पनि कला क्षेत्रका काम गर्नुपूर्व गरिने अडिसनलाई महत्वपूर्ण मानिन्छ । चाहे कलाकार हुन् या प्राविधिक एक भिडियो निर्माणका लागि दुवै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि काम गर्नुपूर्व त्यस व्यक्ति उक्त कामका लागि योग्य छ कि छैन । त्यस कामप्रति अनुभव छ या छैन अथवा गर्न सक्छ कि सक्दैन भनेर त्यसको मूल्यांकन अडिसनबाट हुन्छ । यही अडिसनबिना सिधै काममा छनोट गरियो भने जोखिम पक्कै पनि हुन्छ ।

कतिपयले भने पहिले अभिनय क्षेत्रको काम गरिसकेको व्यक्तिलाई फेरि अभिनय गरिने कामकै लागि अडिसन लिइरहनुपर्दैन भन्ने तर्क पनि राखेको पाइन्छ । यसैक्रममा नेपाली कला क्षेत्रकी मिहिनेती, संघर्षशील र पछिल्लो समय लोकप्रियता कमाउँदै जानुभएकी कलाकार साक्षी लम्साल भने अडिसनमा विश्वास राख्ने बताउनुहुन्छ । कुनै पनि काम गर्नुपूर्व अडिसन लिनुपर्ने उहाँको तर्क छ । ‘कुनै पनि काम गर्नुअगाडि त्यो कामका लागि हामीले छनोट गर्ने व्यक्ति फिट हुन्छ कि नाइँ त्यो हेर्नु जरुरी हुन्छ । त्यसका लागि अडिसनको जरुरी पक्कै पर्छ,’ साक्षीले भन्नुभयो, ‘अडिसनले पछि गरिने कामको जोखिमलाई कम पनि गर्छ ।’

साक्षीले कुनै चलचित्रका लागि कलाकार छनोट गर्नका लागि उक्त कलाकारले त्यसअघि गरेको अन्य चलचित्रको भूमिका हेरेर पूर्ण विश्वास गर्न नसकिने बताउनुभयो । ‘कुनै एक कलाकार सबै क्यारेक्टरमा फिट हुन्छ भन्ने हुँदैन त्यसैले अडिसनको जरुरी पर्ने हो,’ साक्षीले भन्नुभयो, ‘तर नेपालमा कतिपय कामका लागि अडिसन लिने तर भित्रभित्रै आपसी समझदारीमा कलाकार छनोट गरिसक्ने पनि गरेको पाइन्छ । अडिसन भनेको फेयर हुनुपर्छ । त्यसपछि रिजल्ट पनि राम्रो आउँछ ।’ विसं. २०७३ बाट औपचारिकरूपमा मोडलिङ क्षेत्रमा प्रवेश गर्नुभएकी साक्षीले अहिलेसम्म २० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसक्नुभएको छ । उक्त अवधिमा साक्षीले धेरै म्युजिक भिडियोका लागि अडिसनबाटै छनोट भएको सुनाउनुभयो ।

ललितपुर भैंसेपाटी निवासी साक्षीले अहिले काठमाडौं उपत्यकालाई कर्मथलो बनाउनुभएको छ । त्यसो त नेपालका अधिकांश कलाकारले केन्द्रीय राजधानीमै बसेर काम गरिरहेको अवस्थामा साक्षीले कामकै क्रममा विदेशको यात्रा पनि गरिसक्नुभएको छ । उहाँले भ्वाइस आर्टिस्टका रूपमा एक प्रोजेक्टमा डब गरेर कलाकारिता सुरु गरेसँगै त्यसपछि फोटो सुट हुँदै टेलिभिजन कार्यक्रम प्रस्तोता, मोडलिङ, थिएटर र चलचित्रमा समेत काम गर्नुभयो ।

कुनै पनि कलाकारको म्युजिक भिडियो वा चलचित्रको पर्दामा काम गर्दै जाँदा कुनै ब्रान्डका विज्ञापनमा पनि अभिनय गर्ने इच्छा ठूलो हुन्छ । साक्षीले पनि मोडलिङको पहिलो पाइलाका रूपमा डिसहोमको विज्ञापनबाट सुरु गर्नुभयो । त्यसपछि एनसेल, गोल्डस्टार, अमृत तेल हुँदै सिटी एक्सप्रेस, बेला मोटर्स नेपाल, जगदम्बा सिमेन्ट, माछापुच्छ«े बैंक, यति कार्पेट, सिटीजन कलेजलगायत अहिलेसम्म २० महत्वपूर्ण ब्रान्डको विज्ञापनमा अभिनय गरिसकेको बताउनुहुन्छ ।

उहाँले मोडलिङ गरेको पहिलो म्युजिक भिडियो भने ‘सारा खुसी’ हो । श्रेया सोताङ र अमित विष्टको स्वर रहेको उक्त गीतको भिडियोमा साक्षीले अभिनेता पल शाहसँग मोडलिङ गर्नुभएको छ । यस गीतबाट उहाँलाई थप दर्शकले चिन्ने मौका पाए भने अन्य म्युजिक भिडियोको काम पनि आउन थाल्यो । काम गर्दै जाँदा रामकृष्ण बजगाईंको निर्देशन रहेको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ मा काम गर्ने अवसर पाउनुभयो । म्युजिक भिडियो हुँदै चलचित्रमा काम गरिसकेपछि साक्षीलाई थिएटरमा अभिनय पनि गर्ने इच्छा जाग्यो र प्राइभेट वर्कसफ लिएर आरम्भ थिएरटबाट नाटक अभिनयको सुरुवात गरेको बताउनुहुन्छ । आरम्भ थिएटरमा ‘सातुको कथा’ र आदिकवि भानुभक्तको जीवनमा आधारित एक नाटक गरेको उहाँ बताउनुहुन्छ । उहाँ नाटक शोका लागि तीन वर्षअघि थाइल्यान्ड पनि पुगेर आइसक्नुभएको छ ।

मोडलिङ क्षेत्रमा प्रवेश गरेको पाँच वर्ष पुगिसक्दा संख्यात्मक हिसाबमा म्युजिक भिडियो किन कम भन्ने हाम्रो प्रश्नमा साक्षीले अफर आएका सबै भिडियोमा काम नगरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले सुरुबाटै म्युजिक भिडियोमा काम गर्नका लागि अफर आएजति सबै गरेको भए सायद धेरै हुन्थे तर गुणस्तरलाई जोड दिएकी हुँ ।’ साक्षीले कुनै पनि गीतको भिडियोमा काम गर्नुपूर्व उक्त गीतको अडियोसँगै भिडियो बनाउने टिम कस्तो छ त्यो कुरा बुझेरमात्र  काम गर्ने बताउनुभयो ।

साक्षीले दुई वर्षअघि चलचित्र ‘प्रेमगीत ३’ का लागि पनि अडिसन दिनुभएको थियो । उक्त चलचित्रमा छनोट नभए पनि साक्षीलाई फुर्सद भएर बस्नुपरेको छैन । अहिले दिनहुँजसो म्युजिक भिडियोको कामबाट अफर आउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै आएको फिल्मी कार्यक्रम ‘रजतपट’ मा पनि आठ महिनासम्म सञ्चालिकाका रूपमा काम गर्नुभयो । यस्तै उहाँसँग जनता टेलिभिजनमा पनि कार्यक्रम सञ्चालिकाका रूपमा केही समय काम गरेको अनुभव छ । साक्षीले नेपाल म्युजिक एन्ड फेसन अवार्डमा रिमा गुरुङको ‘आँखा का’ बोलको गीत (सन् २०१८ मा सार्वजनिक भएको) बाट बेस्ट मोडलको अवार्ड पनि पाउनुभएको छ । यस्तै नेक्स्ट टप मोडल अफ नेपाल ब्युटी पेजेन्टमा फस्ट रनरअपको उपाधि हासिल गर्नुभएको थियो । साक्षी नेपाल चलचित्र कलाकार तथा मजदुर संगठनमा सदस्य पदमा रहनुभएको छ ।

साक्षीले कला क्षेत्रमा आफ्नो करिअर देखेर अगाडि बढ्दै गर्दा र चुजि भएर कम काम गरेको देख्दा जीवनयापन गर्नका लागि गाह्रो हुँदैन भनी हामीले प्रश्न थप्यांै । उक्त प्रश्न गरेर सक्न नपाउँदै साक्षीले नेपालमा कलाकारितामात्र गर्छु भनेर बस्दा सधैंका लागि त्यो उपयुक्त नहुने बताउनुभयो । उहाँले अहिले पनि इन्टेरियर डेकोरेसनसँग सम्बन्धित कार्यालयमा ‘साइड जब’ का रूपमा काम पनि गर्दै आउनुभएको छ । ‘नेपालका सन्दर्भमा कलाकारितामात्र गर्छु भन्दा आर्थिक पाटोबाट हेर्ने हो भने गाह्रो पक्कै छ । त्यसैले साइड जब पनि गर्दै आएकी छु,’ उहाँले भन्नुभयो । साक्षी अहिले मास्टर लेभलमा अध्ययन गरिरहनुभएको छ ।

यस्तै साक्षीले कला क्षेत्रमा सफल हुनका लागि पारिवारिक सपोर्ट महत्वपूर्ण रहेको बताउनुभयो । परिवारका सदस्यबाटै साथ भएन भने अगाडि बढ्न निकै गाह्रो हुने उहाँको भनाइ छ । साक्षी अघि भन्नुहुन्छ, ‘यो क्षेत्र कस्तो हो, कसरी काम गरिन्छ भन्ने विषयमा परिवारले बुझ्नुपर्छ र बुझाउन पनि सक्नुपर्छ । मेरो सन्दर्भमा परिवारबाट पूर्णरूपमा सपोर्ट छ । त्यसैले खुसी छु ।’

तस्बिर : अमृत बज्राचार्य