व्यवसायीलाई पनि खोप।

काठमाडौं:= स्वास्थ्य मन्त्रालय/स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा शुक्रबार उद्योगी व्यवसायीका लागि कोरोनाविरूद्धको खोप कार्यक्रम सञ्चालन भएको छ ।

महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलब्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो । सो अवसरमा महासंघ सदस्य, संघसंस्था आबद्ध उद्यमी व्यवसायी, कामदार, कर्मचारी तथा परिवारजन गरी करिब छ सयजनाले भेरोसिल खोप लगाएको महासंघले जनाएको छ । सरकारको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गरिएको खोप कार्यक्रम चार बजेसम्म सञ्चालन भएको थियो ।

खोप कार्यक्रमको शुुभारम्भ महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा सीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्तरूपमा गर्नुभएको बताइएको छ ।

संघीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएजस्तै सबै प्रदेश सरकारले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासंघ सम्बन्धित प्रदेश सरकारसँग महासंघले आग्रहसमेत गरेको छ ।