१२ कक्षाको परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न संसदीय समितिको सुझाव।

काठमाडौं:= प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुनः परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् । शुक्रबार समितिले शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीसँग गरेको छलफलमा सांसदहरूले सिसिएमसीले अनावश्यक हस्तक्षेप गरी परीक्षा रोक्न सिफारिस गरेको आरोपसमेत लगाएका हुन् । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले परीक्षा रोक्न सिफारिस गर्ने सिसिएमसी र स्वास्थ्य मन्त्रालयलाई समेत छलफलमा डाकेर परीक्षा सञ्चालन गर्न निर्देशन दिनुपर्ने माग गर्नुभयोे । जनस्वास्थ्यको मापदण्ड पालना गरेर सबै परीक्षा सञ्चालन गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । ‘खोप लगाएर मात्रै परीक्षा भनेर कुरेर नबसौं, खोप लगाएकाहरूमा पनि कोरोना देखिएको छ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई अन्योलमा नराखौं, सानासाना समूह बनाएर परीक्षा सञ्चालन गरौं ।’

सांसद मानबहादुर विश्वकर्माले त्रिभुवन विश्वविद्यालय, कक्षा ११ र विदेशी बोर्डहरूको परीक्षा सञ्चालन गर्ने तर कक्षा १२ को मात्रै रोक्ने भनेर असन्तुष्टि जनाउनुभयो । विद्यार्थीलाई परीक्षा स्थगित गरेर सधै अन्योलमा राख्न नहुने उहाँको सुझाव थियो । परीक्षा स्थगित गरेर सरकारले अपरिपक्व निर्णय गरेको सांसद सुरेन्द्र यादवले बताउनभुयो ।

सांसद जीवनराम श्रेष्ठले सरकार जिम्मेवार नहुँदा परीक्षा स्थगित गरिएको आरोप लगाउनुभयो । बोर्डले परीक्षासम्बन्धी गरेको तयारी नबुझी सिसिएमसीले हचुवाको भरमा परीक्षा रोक्न सिफारिस गरेको र शिक्षा मन्त्रालयलेसमेत गैर जिम्मेवारपन देखाएको उहाँको भनाइ थियो । साउन ३१ देखि सञ्चालन हुने परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयले सिसिएमसी र सिसिएमसीले शिक्षा मन्त्रालयमार्फत राष्ट्रिय परीक्षा बोर्डलाई सिफारिस गरेको थियो ।

‘कक्षा १२ को परीक्षा मात्र रोक्नुपर्ने कुन भेरियन्ट हो ?’ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

छलफलमा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललगायत पदाधिकारीले सीसीएमसीको सिफारिसको आधारमा परीक्षा स्थगित गर्नुपरेको बताउनुभएको थियो । सांसद नमिता चौधरीले तत्काल परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । ‘अरू परीक्षा लिन हुने १२ कक्षाको किन सम्भव भएन,’ उहाँले प्रश्न गर्नुभएको थियो ।

छलफलमा बोर्डका अध्यक्ष पौडेलले घुमाउरो पारामा परीक्षा स्थगित गर्न निर्देशन आएकाले रोक्नुपरेको बताउनुभएको थियो । ‘परीक्षाको तयारी पूरा भएको थियो, सकभर स्वास्थ्य मापदण्ड पालाना गरेर परीक्षा लिँदै थियौँ,’ उहाँले भन्नुभयो, ‘अचानक परीक्षा रोक्न भनियो, १२ कक्षाको परीक्षा मात्र रोक्नपर्ने कुनचाहिँ भेरियन्ट हो, हामीले पनि बुझ्न सकेका छैनौं ।’ परीक्षा स्थगित गर्न सिफारिस गर्नुअघि स्वास्थ्य मन्त्रालय, सिसिएमसी, शिक्षा मन्त्रालयले परीक्षाको तयारी र स्वास्थ्य मापदण्डको विषयका सोधखोज नै नगरेको उहाँले गुनासो गर्नुभयो । बोर्डले दुई सयभन्दा बढी परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र कायम गरेर परीक्षा लिने तयारी गरेको थियो । चार हजार ३१५ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै थिए । जसमा दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले ३०९ वटा र चार सयभन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा रहेका छन् । शिक्षा सचिव रामप्रसाद थपलियाले शुक्रबारबाट कक्षा १२ का विद्यार्थीलाई पनि खोप दिन थालिएकाले परीक्षा सञ्चालन गर्न सकिने बताउनुभयो ।