विपक्षी दलका सांसद र नेताको व्यवहार आपत्तिजनकः सभामुखको सचिवालय।

काठमाडौं:= सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रमुख विपक्षी दलका सांसद र नेताको व्यवहार र अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेकपा एमालेले कारबाहीको सिफारिस गरेको १४ सांसदलाई कारबाही गर्न दबाब दिन भन्दै सभामुख सापकोटालाई भेट्न पुगेका एमालेका सांसदहरूको अभिव्यक्ति, प्रस्तुति र व्यवहार अमर्यादित र अशोभनीय रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताउनुभयो ।

पूर्व–प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा आएका विचार र प्रस्तुतिले वातावरण बिगारेको सचिवालयले जनाएको छ । ‘हिजो सभामुखज्यूलाई भेट्न आउनुभएका माननीयज्यूहरूको अभिव्यक्ति, प्रस्तुति र व्यवहार अशोभनीय भयो । पछि सार्वजनिक सञ्चारमाध्यममा प्रमुख विपक्षी दलका नेताले दिएको अभिव्यक्तिसमेत हेर्दा त्यसले वातावरण बिगारेको महसुस गरिएको छ,’ न्यौपानेले भन्नुभयो, ‘यो अत्यन्त अशोभनीय, अमर्यादित र असंसदीय छ । यसले वातावरण थप बिगार्नेछ ।’

यसअघि पार्टी खोल्ने मनशाय रहेको भन्दै नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेको छ । निवेदनको कारबाही नभएको भन्दै एमाले सांसदहरू शुक्रबार पनि सभामुखको कार्यकक्ष अगाडि पुगेर अमर्यादित व्यवहार देखाएको न्यौपानेले बताउनुभयो । एमाले सांसदहरू यसैबारेमा सभामुखलाई भेटेर ‘दबाब दिन’ शुक्रबार पनि सिंहदरबार गएका थिए । तर, सभामुख कार्यकक्षमा नआएपछि सभामुखले ‘फेस नगरेको’ भन्दै बाहिरिएका थिए ।

सभामुखको सचिवालयले भने शुक्रबार सभामुख पूर्व-निर्धारित अर्को कार्यक्रममा सहभागी भएको र यो कुरालाई पनि ‘सभामुखले फेस नगरेको’ भनेर गलत कुरा गरिएको भन्दै आपत्ति जनाएको छ । एमालेले सिफारिस गरेका सांसदलाई तत्काल कारबाही गर्न दबाब दिँदै आएको छ भने सभामुख सापकोटाले अध्ययन भइरहेको भन्दैं छिट्टै यो विषय टुंग्याउने बताउनुभएको छ ।

माधव नेपाललाई साथ नदिएका एकथरि नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओलीनिकट नेताहरू भने जसरी पनि सांसदबाट कारबाही गराउन सक्रिय भएका हुन् । ओलीनिकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् ।