काठमाडौं:= अध्यक्ष माधवकुमार नेपालले एकताको सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ पार्टी दर्ता गर्नुपरेको बताउनुभएको छ । नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएपछि अध्यक्ष नेपालले एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छौं ।’
कम्युनिष्ट पार्टी र आन्दोलनबाट जनताले चाहेको संस्कृति र समृद्धिका लागि जनताबाट सकारात्मक सहयोगको अपेक्षा रहेको पनि नेता नेपालले बताउनभुएको छ ।
सामाजिक सञ्जालबाट प्रतिक्रिया सार्वजनिक गर्नुहुँदै उहाँले हाललाई नयाँ दलमा साबिक नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेकाहरू, विद्रोहका पक्षमा हस्ताक्षर गर्नेहरू र २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला आफ्नो तर्फबाट थपिएकाहरूलाई मात्र समावेश गरिएकोमा अब थप केन्द्रीय सदस्य बनाउने पनि बताउनुभएको छ ।
राष्ट्रिय भेला तथा सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने उल्लेख गर्नुहुँदै नेता नेपालले भन्नुभएको छ, ‘अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं ।’
नेपाललाई खनालको साथ
भारतको दिल्लीमा उपचाररत पूर्व-प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले माधव नेपाल नेतृत्वको पार्टीलाई साथ दिने बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले नयाँ पार्टी गठनमा साथ दिने बताउनभुएको हो । उहाँको सचिवालयले भनेको छ, ‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व–प्रधानमन्त्री झलनाथ खनाल नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’




















