नेपाल र ठाकुर नेतृत्वका दुवै पार्टीको फेरियोे नाम, ९ गते सनाखत हुने।

काठमाडौं:= माधव नेपाल र महन्त ठाकुरको नेतृत्वमा गठन गरिएको दुवै पार्टीको नाम परिवर्तन भएका छन् । निर्वाचन आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को पार्टीको नाम राख्न नमिल्ने बताएपछि यसअघिका नाम परिवर्तन गरिएको हो। जसअनुसार माधवकुमार नेतृत्वमा रहेको नेकपा एमाले (समाजवादी) पार्टीको नाम परिवर्तन गरी नेकपा (एकीकृत समाजवादी) राखिएको छ ।

यसैगरी, ठाकुर नेतृत्वको जसपा (समाजवादी) पार्टीको पनि नाम बदलेर लोकतान्त्रिक समाजवादी पार्टी बनाइएको छ । निर्वाचन आयोगले नयाँ गठन गरिएका दुवै पार्टीको सनाखतका लागि भदौ ९ गते बोलाएको छ । सरकारले अध्यादेश ल्याएपछि एमालेबाट टुक्रिएको माधव नेपाल समूहको पार्टी नेकपा (एकीकृत समाजवादी) र जसपाबाट अलग भएको महन्थ नेतृत्वको लोकतान्त्रिक समाजवादी नामका पार्टी दर्ताका लािग निवेदन प्राप्त भएकाले सनाखतका लागि केन्द्रीय सदस्यसहित ९ गते आयोगमा उपस्थित हुन भनिएको हो ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन प्राप्त भएकाले ९ गते सनाखत हुने र त्यसपछि मात्रै दर्ताको प्रमाणपत्र दिने बताएको छ । शुक्रबार आयोग पुगेर नेपालनिकट नेताहरूले पार्टी दर्ताका लागि औपचारिक निवेदन दिएका छन् । यसअघि अध्यादेश आएको भोलिपल्टै नेताहरू आयोग पुगेर दल दर्ताका लागि जानकारी गराए पनि कुनै प्रक्रिया भने अगाडि बढेको थिएन ।

अध्यादेश जारी भएर आयोगले राजनीतिक दलसम्बन्धी नियमावली बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै नयाँ दल दर्ता प्रक्रिया अगाडि बढेको हो । ९ गते केन्द्रीय सदस्य वा सांसदहरूलाई भौतिक रूपमै सहभागी गराएर सनाखत गराइने आयोगको भनाइ छ । नागरिकतासहित नेताहरूलाई बोलाइएको छ । सनाखत भएपछि भने नयाँ दल दर्ताको प्रमाणपत्र दिन भने समय नलाग्ने आयोगको भनाइ छ। नेकपा एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना संघीय संसद्का सांसद आफ्नो पक्षमा रहेको दाबी नेपाल समूहले गर्दै आएको छ । आयोगमा बुझाइएको निवेदनमा भने केन्द्रीय समिति सदस्यहरूको संख्या ११५ बुझाइएको छ ।

नेपाल समूहले पार्टीको नाम टुंगो लगाए पनि चुनाव चिन्हको बारेमा भने अझै निर्णय गर्न सकेको छैन । यसअघि ‘खुल्ला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो । यस्तै, यसअघि पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने निर्णय भए पनि आयोगले अन्य पार्टीसँग मिल्दो नाम नराख्न सुझाव दिएको थियो । त्यसपछि नेताहरूले नाम परिवर्तन गरेका थिए । नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको थियो ।

एमालेका तर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालय पुग्नुभएको थियो । एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरूलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने जिकिर पनि एमालेको छ । एमालेले माधव नेपाललाई हँसिया हथौडा प्रयोग गर्न नदिने भनेपछि एमाले, माओवादी, नेमकिपा, जनमोर्चा, माले, विप्लव समूहलगायतका सबै कम्युनिष्ट पार्टीले हँसिया हथौडा अंकित झण्डा नै प्रयोग गर्दै आएका छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी दलको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहनुभएको छ । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित ३१ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार सबै विवरण समावेश गरी छुट्टै दल दर्ताका लागि निवेदन आवेदन गरिएको छ ।