काठमाडौं:= झण्डै दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । फोहोर व्यवस्थापन केन्द्र नुवाकोटको सिसडोलमा जाने सडक बिग्रिएका कारण उठाउन नसकिएको हो । झरी र हिलोले सडक अस्तव्यस्त भएपछि सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
लामो समयदेखि फोहोर नउठ्दा सडक किनार र गल्लीगल्लीमा दुर्गन्ध फैलिएको छ । सडकछेउ र ठाउँठाउँमा फोहोरका डंगुर थुप्रिएका छन् । ठाउँठाउँमा फोहोर थुप्रिएपछि दुर्गन्ध त फैलिएको छ नै संक्रामक रोगको जोखिम पनि बढेको छ ।
दुई सातादेखि फोहोर थुप्रिन थाले पनि उठाउनुको सट्टा महानगरले घरबाहिर फोहोर नफाल्न भन्दै सूचना जारी गरिरहेको छ । गत सोमबार नै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै एक साता फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको थियो । तर, करिब दुई सातासम्म फोहोर नउठेपछि कतिपय नागरिकले रातिराति चोक, सडक र नदी किनारमा फोहोर थुपार्न थालेका छन् । एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ ।
महानगरकाअनुसार उपत्यकाको फोहोर उठाउन ठप्पै भने भएको छैन । वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ केही मात्रामा फोहोर उठाइरहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि दैनिक ५० ट्रक फोहोर उठिरहेको छ । तर, त्यो उठ्न्पर्नेभन्दा निकै कम हो । सामान्य समयमा हरेक दिन २०० गाडीले फोहोर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
नियमित २०० करिब बढी ट्रक गइरहेकोमा अहिले ५० मात्रै गइरहेको उहाँले बताउनुभयो । ‘फोहोर नउठेको भन्ने होइन । उठ्नुपर्नेभन्दा निकै कम उठेको हो, ’ उहाँले भन्नुभयो, ‘पहिले डेढ सय ट्रक जान्थ्यो । अहिले ५० जति गइरहेको छ ।’
श्रेष्ठका अनुसार निरन्तरको वर्षाले बाटो बिग्रिएपछि फोहोर उठाउन रोकिएको हो । पानी नरोकिएसम्म तत्काल फोहोर नियमित उठ्ने सम्भावना पनि छैन । वर्षात् कम हुनेबित्तिकै फोहोर नियमित उठाइने उहाँले बताउनुभयो । निरन्तर पानी परिरहेकाले अझै केहीदिन फोहोर व्यवस्थापनमा समस्या हुन नसक्ने उहाको भनाइ छ । ‘बाटोको कारणले आठ÷दश दिनदेखि फोहोर उठ्न सकेको छैन । वर्षात् कम हुनेबित्तिकै फोहोर उठाउन थाल्छौँ,’ उहाँले भन्नुभयो । निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न केही असहज भएको र बाटोका कारण समस्या भएको उहाँले बताउनुभयो ।
महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रूपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ । यस विषयमा महानगरले सरकारसँग पनि पटक–पटक कुरा गरेको भए पनि कुनै समाधान निस्केको छैन । प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालय र विभागमासमेत महानगरले यसबारे जानकारी गराएको श्रेष्ठले बताउनुभयो । तर, समस्याको समाधानमा कुनै प्रगति हुन नसकेको उहाँले बताउनुभयो । ‘सरकारले गत वर्ष नै बञ्चरे डाँडास्थित प्रशोधन केन्द्र हस्तान्तरण हुने कुरा थियो,’ उहाँले भन्नुभयो, ‘तर, यस वर्ष पनि हस्तान्तरण हुन सकेन । यो कुरा हामीले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालय र विभागमा पटक–पटक भन्यौँ । तर, कुनै समाधान निस्किन सकेन ।’
उसो त काठमाडौंमा फोहोर थुप्रिने समस्या नौलो होइन । यसअघि पनि पटक-पटक सिसडोलवासीको विरोधका कारण रोकिँदै आएको थियो । सधैंजसो वर्षायाम सुरु भएपछि फोहोर संकलन र व्यवस्थापनमा समस्या हुने समस्या पनि नौलो होइन । तर, यसको समाधानप्रति सरकारदेखि महानगरसम्म उदासीन देखिन्छन् । बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि फोहोर व्यवस्थापनमा समस्या आइरहेको छ ।
‘संक्रामक रोग फैलिने खतरा’
लामो समय फोहोर थुप्रिदा विभिन्न संक्रामक रोग फैलिने वातावरण बनेको चिकित्सकको भनाइ छ । वर्षा र गर्मीयाम संक्रामक रोग फैलिने समय भएकोले जोखिम झन् बढेको उनीहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोक अस्पताल टेकुका क्लिनिकल रिसर्चर डा. शेरबहादुर पुनः उपत्याकामा थुप्रिएको फोहोरका कारण संक्रामक रोग फैलिने खतरा रहेको बताउनुहुन्छ ।
‘फोहोर हुनु भनेको संक्रामक रोग फैलिने वातावरण सिर्जना हुनु हो,’ उहाँले हिमालय टाइम्सलाई भन्नुभयो, ‘गर्मी/वर्खा महिनामा झाडापखाला, हैजा र टाइफाइडलगायत थुप्रै संक्रामक रोग फैलिने समय हो । यो मौसमी फ्ल्युको सिजन पनि हो । लामो समयसम्म फोहोर व्यवस्थापन गर्न सकेनौं भने घरबाट फालेको फोहोर त घरसम्मै आइपुग्छ । यसले विभिन्न रोगहरू बोकेर आउँछ । त्यो अवस्थामा बिरामी हुनसक्ने सम्भावना चाँहि रहन्छ ।’




















