सरकारद्वारा नेपाल पक्षलाई भागबण्डाअनुसार नियुक्ति सुरु।

काठमाडौं:= राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि एमालेबाट विद्रोह गरेर एमाले समाजवादी पार्टी गठन गर्नुभएका माधव नेपाललाई सरकारले भागबण्डाअनुसार नियुक्ति सुरु गरेको छ । एमाले औपचारिक विभाजन भएको भोलिपल्ट नै सरकारले नेपालनिकट यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको हो । प्रसाईंको ठाउँमा शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको हो ।

शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुनुहुन्छ । शर्मा लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गर्नुभएको थियो । नेपालले नयाँ पार्टी दर्ता गर्न बुधबार आयोगमा निवेदन दिनुभएको छ । तर, अहिलेसम्म दर्ता भने भएको छैन । अध्यादेश आएपछि एमाले विभाजनको प्रक्रिया सुरु भएसँगै नेपाल समूहका व्यक्तिलाई सरकारले राजनीतिक नियुक्तिमा स्थान दिन थालेको हो ।

यसैगरी, बिहीबार बसेको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले शर्मालाई महारथी पदमा पदोन्नति गर्ने निर्णय गरेको हो । शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । उहाँ अहिले कायममुकायम प्रधान सेनापति हुनुहुन्छ ।

यस्तै, सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो । साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ ।

गाईजात्रा भदौ ७ गते रहेको छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय सरकारले गरेको हो ।