भीष्मराज फुलारालाई साहित्य विधाबाट उत्कृष्ट अवार्ड।

काठमाडौं:= बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई) को प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेनमेन्ट अवार्ड सम्पन्न भएको छ । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्युजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहकार्यमा अवार्ड समारोह सम्पन्न भएको हो ।

गीतसंगीत तथा अन्य विभिन्न विधामा ४२ भन्दा बढी सर्जकलाई अवार्ड प्रदान गरिएको समारोहमा पूर्वअर्थमन्त्री डा. रामशरण महत प्रमुख अतिथि रहनुभएको थियो । बोस्टर मिडियाका सल्लाहकार भवानीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको अवार्ड समारोहमा साहित्यकार राधेश्याम लेकाली, राजु श्रेष्ठ व्यवसायी, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा वरिष्ठ निर्देशक मोहन निरौला, वरिष्ठ हास्यकलाकार लय संग्रौला, वरिष्ठ हास्यकलाकार उत्तम केसी, चलचित्र निर्देशक जनक खकुरेल, व्यवसायी तथा समाजसेवी राजु श्रेष्ठ, व्यवसायी तथा समाजसेवी प्रकाश श्रेष्ठलगायतले अवार्ड तथा सम्मान प्रदान गर्नुभएको थियो ।

अवार्ड समारोहमा वरिष्ठ साहित्यकार भीष्मराज फुलारालाई उत्कृष्ट जुरी अवार्ड साहित्य विधाबाट प्रदान गरिएको छ । उहाँलाई अवार्ड समारोहमा उक्त अवार्डले विभूषित गरिएको हो । समारोहका प्रमुख अतिथि पूर्वअर्थमन्त्री डा. रामशरण महतले फुलारालाई अवार्ड, सम्मान पत्र, खादा र माला प्रदान गर्नुभएको थियो । साहित्यकार फुलारा बहुआयामिक व्यक्तित्वले विभूषित हुनुहुन्छ । फुलारा लिटरेचर फाउन्डेसन नेपालको अध्यक्ष, राष्ट्रिय साहित्यिक समाज नेपालको महासचिव, काइट्स इन्टरटेनमेन्ट प्रालिको कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय लेखक संघ प्यान नेपालको सदस्यलगायत दर्जनांै संघसंस्थामा रहेर विभिन्न जिम्मेवारी वहन गरिरहनुभएको छ । उहाँका आधा दर्जनजति साहित्यिक कृति पाठकमाझ आइसकेका छन् भने गीतकारका रूपमा पनि उहाँ त्यत्तिकै लोकप्रिय रहनुभएको छ ।