कांग्रेस महाधिवेशनका बाधकः क्रियाशील र कोरोना!

काठमाडौं:= सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा फेरि पनि क्रियाशील सदस्यता र कोरोना भाइरस (कोभिड-१९) चुनौती बन्ने देखिएको छ । यसअघि पनि कोरोनालाई कारण देखाउँदै पटक–पटक तोकिएको मिति गुजारेको कांग्रेस महाधिवेशनमा फेरि पनि कोरोना बाधक बन्ने देखिएको हो । तेस्रो लहरको संक्रमणदर बढिरहेको बेला कांग्रेसले १४औं महाधिवेशनको नयाँ मिति तय गरेको छ । मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । केन्द्रीय महाधिवेशनअघि कांग्रेसको वडादेखि गाउँ÷नगर र जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ । भदौ १८ देखि वडा तहको अधिवेशन सुरु हुनेछ । जबकि असोजदेखि नै कोरोनाको तेस्रो लहरले सुरु हुने स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्हरूले बताएका छन् । संक्रमण बढ्दै गएपछि प्रशासनले विभिन्न जिल्लामा जारी निषेधाज्ञामा कडाइ गर्दै लगेको छ । कोरोना संक्रमण पुनः दु्रत गतिमा बढ्दै जाँदा निषेधाज्ञामा कडाइ हुने हुँदा महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुनसक्ने देखिन्छ । कांग्रेस महाधिवेशनको बाधक कोरोना भएकोमा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी स्वीकार गर्नुहुन्छ । तर, कोरोनाकै कारण महाधिवेशन प्रभावित भने नहुने उहाँको तर्क छ । प्रविधिको युगमा विभिन्न विकल्प प्रयोग गरेर भए पनि महाधिवेशन गर्न सकिने उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । ‘यो प्राकृतिक विपत्ति पनि महाधिवेशनको चुनौती हो,’ उहाँले भन्नुभयोे, ‘तर, यसकै कारण महाधिवेशन प्रभावित हुँदैन । अहिले प्रविधिको युगमा जुममार्फत महाधिवेशन गर्न सकिन्छ । प्रविधिको यति विकास भइसकेको छ । यसबाटै भोटसमेत गर्न सकिन्छ । सहमतिमै नेतृत्व चयन पनि त हुनसक्छ ।’

त्यस्तै यसअघि तोकिएकै समयमा महाधिवेशन नहुनुको मुख्य कारण क्रियाशील सदस्यता विवाद हो । कोरोनालाई बहाना बनाउँदै पटक–पटक मिति सारिए पनि महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यता विवाद अहिले पनि जारी छ । अधिकांश जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिसकेको भए पनि केही जिल्लाको विवाद अझैं मिल्न सकेको छैन । पाँच जिल्ला र एक सय वडाको क्रियाशील सदस्यता विवाद मिलाउन बाँकी छ । क्रियाशील सदस्यता वितरण र नवीकरण पारदर्शी नभएको भन्दै केन्द्रीय कार्यालय सानेपामा बारा र सप्तरीका नेता कार्यकर्ता एक महिनादेखि अनशनमा छन् ।

कांग्रेस क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा तीन नेतालाई दिइएको छ । पूर्वमहामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्यद्वय डा.मीनेन्द्र रिजाल र रमेश लेखकलाई भदौ २ गतेसम्म विवाद मिलाएर सभापतिलाई बुझाउन भनिएको छ । यसअघि रमेश लेखक नेतृत्वको समितिले विवाद मिलाउन नसकेपछि विवादित स्थानको फाइल पुनः केन्द्रीय समितिमै फर्काएको थियो । कांग्रेस केन्द्रीय सदस्य भण्डारी जसरी पनि क्रियाशील सदस्यता विवाद मिल्नेमा विश्वस्त हुनुहुन्छ । उहाँले भदौ २ भित्रै क्रियाशील विवाद मिल्ने विश्वास व्यक्त गर्नुभयो । ‘यसअघि तोकिएको समयमा महाधिवेशन हुन नसक्नुको एउटा कारण क्रियाशील सदस्यता विवाद पनि हो,’ उहाँले भन्नुभयोे, ‘क्रियाशील विवाद भदौ २ सम्म जसरी पनि टुंगिन्छ । टुंग्याउनुपर्छ । यसको विकल्पै छैन ।’

भदौ २ मा पनि समस्या समाधान नभए यसलाई थाती राखेर भए पनि महाधिवेशन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले विवाद नटुंगिएको अवस्थामा पुरानै सदस्यता कायम राखेर भए पनि महाधिवेशन गर्नुपर्ने दोहो¥याउनुभयो । ‘फेरि पनि विवाद टुंगिन्छ भन्ने मलाई विश्वास छ,’ उहाँले भन्नुभयोे, ‘टुंगिएन भने यसले महाधिवेशनमा भाग लिन पाउँदैन । पुरानै सदस्यकाताका आधारमा महाधिवेशन गर्नुपर्छ ।’ केन्द्रका केही नेताको दादागिरीका कारण हालसम्म क्रियाशील विवाद मिल्न नसकेको उहाँको आरोप छ ।

यता सदस्यताको विवाद मिलाउने जिम्मा पाउनुभएका नेता रमेश लेखले पनि क्रियाशीलकै कारण महाधिवेशन प्रभावित स्पष्ट पार्नुभयो । यसअघि कोरोनाकै कारण कार्यतालिका प्रभावित भए पनि अब भने नहुने उहाँको भनाइ छ । उहाँले तोकिएको समयमै महाधिवेशन हुने दाबी गर्नुभयो । ‘पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजनिक कार्यतालिका अनुसार नै हुन्छ,’ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखकले भन्नुभयो, ‘कोभिडका कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बने पनि अब नयाँ कार्यतालिका अनुसार समयमै महाधिवेशन हुन्छ ।’

बोहराटारमा पौडेल पक्षको छलफल

नयाँ कार्यतालिकाका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूसँग छलफल गर्नुभएको छ । मंसिरमा महाधिवेशन गर्ने शनिबारको निर्णयपछि उहाँले बोहराटारस्थित निवासमा बोलाएर नयाँ कार्यतालिकालगायत विषयमा छलफल गर्नुभएको हो । बैठकमा आफूहरूकै सहमतिमा नयाँ मिति तोकिएको पौडेलले बताएको पौडेल पक्षका नेता मधु आचार्यले जानकारी गराउनुभयो । उहाँका अनुसार अब तोकिएको समयमा महाधिवेशन गर्नुको विकल्प नभएको पौडेलले बताउनुभएको थियो । ‘महाधिवेशनको नयाँ मिति तय गरिएको बारे नेताहरूलाई जानकारी गराउनुभयो,’ आचार्यले भन्नुभयोे, ‘आफूहरूको सहमतिमै मिति तय भएको जानकारी दिनुभयो । अब तोकिएको समयममा जसरी पनि महाधिवेशन गर्नुपर्छ भन्ने उहाँको मत थियो ।’

‘नयाँ कार्यतालिका आएको छ । यसमा हामी सबैको पूर्ण सहमतिले नै आएको हो । अन्यथा नलिनु होला । छलफल गरेरै साझा धारणा बनेको हो,’ पौडेललाई उद्धृत गर्दै आचार्यले भन्नुभयो, ‘अब जसरी पनि महाधिवेशन गर्नुपर्छ । महाधिवेशनको विकल्प छैन ।’

बैठकमा क्रियाशील सदस्यताका विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा सहभागी नेताहरूले कसैलाई अन्याय नहुनेगरी विवद टुंग्याउनुपर्ने बताएका थिए । ‘सबै साथीहरूको चासो क्रियाशीलको विषयमा रहृयो,’ उहाँले भन्नुभयो, ‘धेरै जिल्लाबाट साथीहरूको शंका वेबसाइटमा राखिएको सदस्यता सूची किन हटाइयो भन्ने रहृयो । किन पारदर्शी गरिएन भन्ने रहृयो । अहिले पनि भित्रभित्रै फर्जी कामहरू भइराख्या छ कि भन्ने जिज्ञासा हो । फेयरली हुँदैन कि भन्ने चासो र चिन्ता हो ।’

तर, नेता पौडेलले कसैलाई अन्याय नहुने गरी विवाद मिल्ने बताउनुभएको आचार्यले जानकारी गराउनुभयो । कुनै क्षेत्रमा विवाद मिल्न नसके पुरानै सदस्यता कायम राखे पनि महाधिवेशन हुने बताएको उहाँले जनाउनुभयो । ‘तीनजनालाई जिम्मा दिएको छ । उहाँहरूले पूर्णरूपले नै हेरेर फाइनल गर्नुहुन्छ । कसैलाई अन्याय नहोस् भन्ने हेतुले काम हुन्छ,’ पौडेलको भनाइ उद्धृत गर्दै आचार्यले भन्नुभयो, ‘मिलेन भने त पुरानै सदस्यताका आधारमा जाने हो ।’