काठमाडौं:= अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार भएको बैठकपछि समितिले त्यहाँ रहेका नेपालीहरूको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो ।
समितिको बैठकमा आइतबार परराष्ट्र सचिव भरतराज पौडेल उपस्थित हुनुभएको थियो । समितिले अफगानिस्तानमा कति नेपाली छन् ? उनीहरूको अवस्था कस्तो एकिन गरी उद्धारको काम थाल्न निर्देशन दिएको हो । ‘त्यहाँ रहेका नेपालीहरूलाई हवाई उडानमार्फत उद्धार गर्न सकिन्छ कि अन्य देशमा स्थानान्तर गरी उद्धार गर्न सकिन्छ तत्काल उद्धारको काम थाल्नु’ बैठकले निर्णय गरेको छ ।
यसअघि बैठकमा परराष्ट्र मन्त्रालयका सचिव पौडेलले त्यहाँ रहेका नेपालीहरूबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको उहाँले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा गठन गरिएको समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहने उहाँले बताउनुभयो ।
अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकुले काबुलमा चारैतिरबाट आक्रमण सुरु गरेको बताउनुभएको छ । तालिवान लडाकुहरू काबुलको बाहिरी इलाकामा पुगेपछि आतंकित कर्मचारी सरकारी कार्यालयबाट भागिसकेका छन् । यसैबीच तालिवान लडाकुले सत्ता पल्टाउन लागेपछि अफगानिस्तानी राष्ट्रपति अशरफ घानी अहिले आपत्कालीन बैठकमा जुट्नुभएको छ । उहाँ पछिल्लो समय अमेरिकी विशेष दूत जलमे खलीलजाद र उत्तर एटलान्टिक सन्धि संगठन (नेटा) का उच्च अधिकारीसँग वार्तामा हुनुहुन्छ । अफगानिस्तानमा करिब एक हजार ५ सय नेपाली रहेको अनुमान गरिएको छ । काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गरेको छ । उनीहरूले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो गत आर्थिक वर्षमा मात्र अफगानस्तानमा रोजगारीका लागि एक हजार ७३ जना नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । जसमध्ये तीनजना महिला छन् । २०७३/०७४ यता अफगानस्तानमा काम गर्न ६ हजार ६३७ नेपालीले स्वीकृति लिएका छन् । यस वर्षको वैशाखदेखि साउन २९ गतेसम्म ३३० जना श्रम स्वीकृति लिएर अफगानिस्तान गएको तथ्यांकले देखाउँछ । यसैबीच समितिको आइतबारको बैठकमा सदस्यहरूले पूर्वगोर्खाहरूले बेलायतमा समान अधिकार र पेन्सन सुविधाको माग गर्दै गरिरहेको अनशनको विषयमा समेत कुरा उठाएका थिए ।




















