कप्तान किरणलाई भारतको आई लिगमा अवार्ड।

काठमाडौं:= नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतको शीर्ष श्रेणीको आई लिग फुटबलमा ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जित्नुभएको छ ।

आई लिगले बिहीबार किरणले उक्त अवार्ड प्राप्त गर्नुभएको सार्वजनिक गरेको छ । किरणले गत सिजनको आई लिगमा मिनरेभा पञ्जाब फुटबल क्लबबाट खेल्नुभएको थियो । उहाँले १४ खेलमा सात क्लिन सिट राख्नुभएको थियो भने विपक्षीले प्रहार गरेको ५६ वटा सटहरू बचाउनुभएको थियो । उहाँले उक्त सिजनका ८२ प्रतिशत प्रहार बचाउनुभएपछि यो अवार्ड जित्नुभएको हो ।

अवार्ड जितेपछि किरणले फुटबल करिअरमा अर्काे एक अवार्ड थपिएको र नेपाली हुनुमा गर्वको महसुस भएको बताउनुभएको छ । ‘समर्थकको साथ र मायाबिना म मेरो फुटबल करिअरमा यी चीजहरू हासिल गर्न सक्दिनँ । त्यसैले सधैं माया गरिरहनु,’ किरणले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

गत सिजन किरण आई लिगको उत्कृष्ट गोलकिपरसमेत चुनिनुभएको थियो । उत्कृष्ट गोलकिपर बनेसँगै उहाँले दुई लाख ५० हजार रुपैयाँ अवार्डसमेत हात पार्नुभएको थियो । गत सिजनको आई लिगको उपाधि गोकुलम करेला एफसीले जित्दा किरण सम्मिलित पन्जाब चौथो भएको थियो ।

किरण अहिले भारतसँगको दुई मैत्रीपूर्ण खेल, साफ च्याम्पियनसिप र एसियन कप छनोट खेलका लागि बन्द प्रशिक्षणका लागि पोखरामा रहनुभएको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा सुरु भएको छ ।