काठमाडौं:= फिफा बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ बरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको बरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लोपटक फिफाको बरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ रहेको थियो । अहिलेको नयाँ बरियतामा नेपालले चार अंक बटुल्दै ९७२ बनाएको छ ।
नेपालले तीन स्थान सुधार गरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खुसी व्यक्त गर्नुभएको छ । उहाँले एन्फा, खेलाडी तथा समर्थकहरूलाई यस सुधारका लागि बधाई दिँदै आगामी दिनमा अझै राम्रो गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५औं स्थानमा छ भने माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८८औं स्थानमा छ भने भुटान १८७औं स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औं स्थानमा रहँदा श्रीलंका २०५औं स्थानमा छ ।
बेल्जियम फिफा बरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो तथा इटाली पाँचौं स्थानमा छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दशौं स्थानमा छ ।




















