आफूले कमाएको आधा सम्पत्ति राज्यलाई दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा।

काठमाडौं:= स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पत्ति सरकारलाई दिने घोषणा गर्नुभएको छ । ५० वर्षदेखि लगानीमात्रै गरेर सम्पत्ति आर्जन गरेकाले अब कमाएको सम्पत्ति फाउण्डेशन बनाएर सरकारलाई दिने उहाँले घोषणा गर्नुभएको हो ।

ईमेज टेलिभिजनको हटसिटमा कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले राज्यबाट भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको स्पष्ट पार्नुभयो । अविवाहित भएकाले आफूलाई कुनै सम्पत्तिको लोभ नभएको उहाँको भनाइ थियो । कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पत्ति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको बताउनुभयो ।

कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएका श्रेष्ठ कांग्रेसको नेतृत्वमा रहेको सरकारमा स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुनुहुन्छ । उहाँ कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो । यसअघि उहाँ संविधानसभा सदस्य हुनुहुन्थ्यो । श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ ।