बेल्जियम स्टार फुटबलर लुकाकु चेल्सीमा फर्कने।

लण्डन:= बेल्जियन स्टार फरवार्ड रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सीमा फर्कनुहुने भएको छ । इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्वक्लब चेल्सीमा अनुबन्धित हुनुहुने भएको हो ।

लुकाकुले चेल्सीसँग व्यक्तिगत सम्झौतामा सहमति गरेपछि इन्टर र चेल्सीबीच पनि ट्रान्सफर रकमबारे सहमति जुटेपछि लुकाकुको चेल्सी आगमन सफल भएको हो । २८ वर्षीय फरवार्डले च्याम्पियन्स लिग विजेता चेल्सीसँग पाँचवर्षे सहमति गर्नुभएको हो । सम्झौताअनुसार उहाँले प्रतिसाता दुई लाख पाउन्ड पारिश्रमिक पाउनुहुनेछ ।

चेल्सीले लुकाकुका लागि गरेको ९७.५ मिलियन पाउन्ड (११५ मिलियन युरो) को प्रस्ताव इन्टरले स्वीकार गर्दै आफ्ना खेलाडीलाई बेच्न तयार भएको हो । लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाड्नुभएको थियो । सन् २०११ मा आन्द्रेलेक्टबाट उहाँ चेल्सी आउनुभएको थियो ।

सन् २०१४ देखि २०१७ सम्म उहाँले अर्को इंग्लिस क्लब एभर्टनबाट खेल्नुभयो । जहाँ उहाँले १६६ खेलमा ८७ गोल गर्नुभएको थियो । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताउनुभएका उहाँले ९६ खेलमा ४२ गोल गर्नुभएको थियो ।

सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताउनुभएको हो । उहाँले लिगमा २४ गोल गर्नुभएको थियो ।