काठमाडौं:= अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी–२० बरियतामा नेपालका चार खेलाडी पर्नुभएको छ । बरियतामा युवा खेलाडी कुशल भुर्तेल, पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र स्पिनर सन्दीप लामिछाने अटाउनुभएको छ ।
नयाँ बरियताअनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको बरियता यथावत् रहेको छ । ब्याटिङ बरियतामा कुशल ६०औं स्थानमा रहनुभएको छ । यसअघि पनि उहाँ ६०औं स्थानमै रहनुभएको थियो ।
नेपालका पूर्वकप्तान पारस खड्काको बरियता सुधार भएको छ । पारस ९०औं स्थानमा उक्लिनुभएको छ । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४औं स्थानमा उक्लिनुभएको छ । बलिङ बरियतामा नेपालका सन्दीप लामिछाने ७७औं स्थानमा रहनुभएको छ ।
नेपालको टी-२० र एकदिवसीय बरियता भने यथावत रहेको छ । टी-२० तर्फको नयाँ बरियतामा नेपाल १२औं स्थानमा रहेको छ । नेपाल एकदिवसीय बरियताको १६औं स्थानमै रहेको छ ।




















