काठमाडौं:= श्रीलंका क्रिकेट टोलीका स्टार विकेटकिपर ब्याट्सम्यान दिनेश चन्डिमलले भैरहवा ग्लाडियर्टबाट एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्नुहुने भएको छ । आगामी असोजमा हुने इपीएलका लागि भैरहवाले विश्वकप च्याम्पियन चन्डिमललाई अनुबन्ध गरेको हो ।
नेपाली क्रिकेट टोलीका अनुभवी खेलाडी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले सामाजिक सञ्जालमार्फत् चन्डिमललाई अनुबन्ध गरेको सार्वजनिक गरेको छ । चन्डिमल श्रीलंकन टोलीका पूर्वकप्तानसमेत हुनुहुन्छ ।
दायाँ हाते ब्याट्सम्यान चन्डिमल श्रीलंकाको दिउँसो रात्रि क्रिकेटमा कप्तानी गर्ने पहिलो कप्तानसमेत हुनुहुन्छ । श्रीलंका २०२० को टी–२० विश्वकपमा श्रीलंका उपविजेता बन्दा त्यसको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । अर्को संस्करण २०१४ श्रीलंकाले जित्दा उक्त टोलीको चन्डिमल महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । २०२० अगस्टमा श्रीलंकन आर्मी स्पोटर््स क्लबबाट खेल्दै चन्डिमलले घरेलु क्रिकेटमा सबैभन्दा बढी ३५४ रन बनाउनुभएको थियो ।
चन्डिमल श्रीलंका टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुनुहुन्छ । उहाँ कप्तानी गर्ने कम उमेरका खेलाडी हुनुहुन्छ । सन् २०१३ मा चन्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टी-२० खेलको कप्तानी गर्नुभएको थियो ।
२०१४ को टी-२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चन्डिमल टोलीका सदस्य हुनुहुन्थ्यो । उक्त विश्वकप श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चन्डिमल ओडीआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुनुहुन्छ । उहाँले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडीआईमा कप्तानी गर्नुभएको थियो ।
चन्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १४९ ओडीआई र ५७ टी-२० आई खेल खेल्नुभएको छ । टी-२० आईमा चन्डिमलले पाँच अर्धशतकसहित कुल ८६८ रन जोड्नुभएको छ । चन्डिमलले राजस्थान रोयल्सबाट आइपीएल खेल्नुभएको छ ।
भैरहवा ग्लाडियर्टको प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दसानायके रहनुभएको छ । श्रीलंकन मूलका क्यानेडेली प्रशिक्षक दसानायकेकै पहलमा चन्डिमलसँग टोलीले अनुबन्ध गरेको हो । भैरहवाले गत वर्ष ओमानका बायाँ हाते तीव्र गतिका बलर विलाल खान, श्रीलंकाका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानालाई अनुबन्ध गरेको थियो । तर, कोरोनाका कारण प्रतियोगिता पछाडि धकेलिएपछि ती खेलाडीले खेल्ने÷नखेल्नेबारे टोलीले केही बताएको छैन ।
भैरहवाले यसअघि वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान ड्वेन स्मिथको पनि नाम सार्वजनिक गरेको थियो । भैरहवामा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त स्वदेशी खेलाडी रहनुभएको छ ।
इपीएल असोज ९ देखि २३ सम्म टीयु मैदानमा हुँदैछ । आयोजकले तयारी तीव्ररूपमा अगाडि बढाएको छ । प्रतियोगितामा यसपटक स्टार खेलाडीहरूमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज) लगायत सहभागी हुने तय भइसकेको छ ।




















