एजेन्सी (बेजिंग) := चीनको एक अदालतले क्यानडाका व्यापारी माइकल स्पाभरीलाई जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैधरूपमा राज्यको गोप्यता भंग गरेको आरोपमा दोषी ठहरिएको बताइएको छ । अदालतले उहाँको केही निजी सम्पत्ति पनि जफत गर्ने आदेश दिएको उल्लेख गरिएको छ ।
अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानेडियनमध्ये स्पाभरी एक हुनुहुन्छ । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले चीनको उक्त निर्णयप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।




















