न्युयोर्क:= महिलामाथि यौन हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरले राजीनामा दिनुभएको छ । अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले राजीनामा दिनुभएको हो ।
विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उहाँलाई राजीनामा गर्न दबाब आएको थियो । सन् २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर हुनुभएका उहाँ अमेरिकी सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता हुनुहुन्छ ।
न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले कुमोले यौनजन्य हिंसा गरेको पाँचमहिने लामो छानबिन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । चुम्बन गर्ने र गोप्य अंगहरूमा इच्छाविपरीत हात लगाएका विभिन्न आरोपहरूको छानबिनले पुष्टि गरेको थियोे ।
राजीनामा दिँदै कुमोले आफूले गर्ने सबैभन्दा उत्तम छनोट राजीनामा भएको बताउनुभएको छ । उहाँले राजीनामा दिए पनि यसको औपचारिक प्रक्रिया पूरा हुन दुई हप्ता लाग्ने बताइएको छ ।




















