काठमाडौं:= अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले फुटबलको पछिल्लो विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट गल्ती हुन पुगेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिसमक्ष बुधबार वयान दिँदै पूर्वप्रवक्ता राईले सामान्य विषयमा समेत प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत् एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई आक्षेप लगाएर गल्ती गरेको बताउनुभयो ।
एन्फामार्फत् नै समाधान गर्नुपर्ने विषयमा प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालका माध्यमबाट आरोप लगाउने कार्य उचित नभएको उहाँको भनाइ थियो । प्रशिक्षक अलमुताइरी अनुशासनको दायराबाट बाहिर गएको राईले आरोप लगाउनुभयो ।
एन्फामा अनुशासन समिति र अपिल समिति हुँदाहुँदै पनि सामाजिक सञ्जालको प्रयोग गर्नु गलत कार्य भएको उहाँले स्पष्ट पार्नुभयो । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले गठन गरेको छानबिन समितिले मंगलबारदेखि एन्फा पदाधिकारी लगायतसित वयान लिन थालेको छ ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङसितको विवादका कारण प्रशिक्षक अलमुताइरीले राजीनामाको घोषणा गर्नुभएको थियो । उक्त घटनाको छानबिन गर्न मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फामा निवेदन दिनुभएको थियो ।
उजुरीपछि एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेको हो । मन्त्रालयले सो घटनाको छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो । राखेपले फुटबल विवाद समाधान गर्न राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सातसदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले मंगलबारदेखि विभिन्न व्यक्तिसित वयान लिन थालेको छ ।
समितिले घटनासँग आबद्ध १३ जनालाई वयानका लागि बोलाएको छ । छानबिन समितिले नेम्वाङ, अलमुताइरी, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासहित झण्डै १३ जनालाई वयानका लागि पत्र काटेको थियो ।
दुई साताअघि एन्फाले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समाधान गर्ने जिम्मा एन्फाले खेलकुद मन्त्रालयलाई दिएको छ । मन्त्रालयले राखेपलाई समिति गठन गर्दै छानबिन गर्न भनेको थियो ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङ, प्रशिक्षक अलमुताइरीले छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता गराउनुभएको थियो । प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गर्नुभएको थियो।
सामाजिक सञ्जालमार्फत् अलमुताइरीले राजीनामा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले दिनदिनै अनेक वहाना र नाटक गरेर आफूलाई दुःख दिएको उल्लेख गर्नुभएको थियो ।




















