३६ वर्षमा ज्याकलिन।

मुम्बई:= बलिउडकी लोकप्रिय अभिनेत्री ज्याकलिन फर्नान्डिज ३६ वर्ष पुग्नुभएको छ । मिस युनिभर्स श्रीलंकासमेत रहनुभएकी ज्याकलिन १९८५ अगस्ट ११ मा जन्मिनुभएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेसनको अध्ययन गर्नुभएकी उहाँले २००९ मा बलिउडमा डेब्यु गर्नुभएको हो । ज्याकलिनले टिभी रिपोर्टरका रूपमा पनि काम गर्नुभएको छ ।

ज्याकलिनका बुबा श्रीलंकाका हुनुहुन्थ्यो भने आमा मलेसियन मूलकी हुनुहुन्थ्यो । ४ भाइबहिनीमध्येकी कान्छी छोरी ज्याकलिनको पहिलेदेखि नै अभिनयप्रति झुकाव थियो । १४ वर्षको उमेरमा उहाँले बहराइनमा एउटा कार्यक्रमसमेत आयोजना गर्नुभएको थियो । एक अन्तर्वार्तामा उहाँले आफूमा सानैदेखि अभिनेत्री हुने चाहना र फिल्मस्टार हुने सोच रहेको बताउनुभएको थियो । सोही कारणले उहाँले जोन स्कुलबाट अभिनयको प्रशिक्षणसमेत लिनुभएको थियो । सिड्नी विश्वविद्यालयबाट स्नातक सकेर टिभी रिपोर्टरका रूपमा काम थाल्नुभएकी ज्याकलिनले त्यसपछि मोडलिङ थाल्नुभएको थियो ।

२००९ मा एक मोडलिङमा कन्फम गर्न भारत छिर्नुभएकी उहाँले सोही समय निर्देशक सुजोय घोषको फिल्म ‘अलादीन’ का लागि अडिसनबाट छानिनुभएको थियो ।